काठमाण्डौ । गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा भएको क्षतिको बीमा दाबी रकम अहिले सम्म करिब २० अर्ब ७० करोड ३८ लाख १४ हजार रुपैयाँ पुगेको छ। नेपाल बीमा प्राधिकरणका अनुसार यो दाबी विभिन्न १८ वटा निर्जीवन बीमा कम्पनीमा दर्ता भएको हो। नेपाल निर्जीवन बीमा व्यवसायी सङ्घले आन्दोलनका कारण क्षति बेहोरेका बीमितलाई शीघ्र क्षतिपूर्ति दिलाउने प्रतिवद्धता व्यक्त गरेको छ।
सङ्घले बीमा गरिएका गाडी तथा अन्य भौतिक संरचनाको क्षतिको यथार्थ विवरणसहित सम्बन्धित निकायमा प्रक्रिया अघि बढाउन बीमितलाई आग्रह गरेको छ। वर्तमान परिस्थितिमा बीमाको महत्व अझ बढेको उल्लेख गर्दै सङ्घले आफ्नो सामाजिक उत्तरदायित्वअनुसार बीमितको क्षतिपूर्ति प्रक्रिया तीव्र गतिमा अघि बढाइरहेको जनाएको छ। क्षतिको यथाशीघ्र मूल्याङ्कन गरी विवरणको आधारमा दाबी भुक्तानी छिटो निष्कर्षमा पुर्याइने सङ्घको विज्ञप्तिमा उल्लेख छ।
सङ्घका अध्यक्ष राजेन्द्र मल्लका अनुसार बीमितहरूले आवश्यक कागजातसहित क्षतिको विवरण चाँडै बीमा कम्पनीमा बुझाएमा दावी प्रक्रिया सहज र छिटो हुनेछ। उनले बीमा कम्पनीहरूले पनि दाबी भुक्तानी समयमै टुंग्याउने उद्देश्यका साथ सक्रिय रूपमा काम गरिरहेको जानकारी दिएका छन्।










प्रतिक्रिया दिनुहोस्