चितवनको तुइन खोलामा ठूलो पहिरो खस्दा नारायणगढ–मुग्लिन सडकखण्ड पूर्ण रूपमा अवरुद्ध भएको छ। डिभिजन सडक कार्यालय चितवनका प्रमुख नारायण लामिछानेका अनुसार रातभर पटक–पटक खसेको पहिरोले करिब १०० मिटर सडक ढाकेको छ। पहिरो झण्डै १०० मिटर माथिबाट खसेको र लगातार ढुङ्गा खसिरहेकाले रातभर सडक खुलाउने काम गर्न नसकिएको उनले जानकारी दिए।
बिहान उज्यालो भएपछि मात्रै सडक सफा गर्ने कार्य सुरु गरिएको छ। हाल दुवैतर्फबाट एक–एक वटा लोडरले पहिरो पन्छाउने काम भइरहेको छ भने नारायणगढतर्फको सेती दोभान क्याम्पबाट एक स्काभेटर पनि पठाइएको छ। लामिछानेका अनुसार पहिरो ठूलो भएको र ढुङ्गा निरन्तर खसिरहेकाले थप पहिरो नखसेको खण्डमा चार घण्टा भित्र सडक खुलाउने सम्भावना छ।
शुक्रबार साँझ करिब ६ बजेपछि बाटो अवरुद्ध भएपछि यात्रुहरू रातभर सडकमै रोकिइरहन बाध्य भएका छन्। पहिरो खसेको स्थान मुग्लिनबाट करिब २.५ किलोमिटर नारायणगढतर्फ पर्छ।










प्रतिक्रिया दिनुहोस्