३ असोज, काठमाडौं । सभामुख देवराज घिमिरेले संविधानविरोधी गतिविधिलाई समयमै चिन्न र नियन्त्रण गर्न सक्नुपर्नेमा जोड दिएका छन्। उनका अनुसार यस्ता गतिविधिलाई रोक्न सके मात्र संविधानको रक्षा र विधिको शासन सुदृढ हुन्छ। संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८२ का अवसरमा शुभकामना सन्देश जारी गर्दै सभामुख घिमिरेले यो धारणा व्यक्त गरेका हुन्।
संविधान घोषणा भएको दशक पूरा हुन केही दिन मात्र बाँकी रहँदा हालैको जेनजी आन्दोलनले समाज र राष्ट्रलाई नयाँ सोच, पारदर्शिता र सुशासनप्रति गम्भीर चेतना दिएको उनले उल्लेख गरे। उनले भ्रष्टाचार र कुशासन अन्त्यको मागसहित निर्दोष युवाहरूको आन्दोलनलाई असामान्य संकटका रूपमा प्रस्तुत गर्दै जननिर्वाचित संसद विघटन गर्ने प्रयास गैरसंवैधानिक रहेको स्पष्ट पारे।
सन्देशमा सभामुख घिमिरेले विगतमा खोसिएका जनअधिकार संसदमार्फत नै पुनर्स्थापित भएको स्मरण गर्दै लोकतान्त्रिक शासन प्रणालीको विकल्प अझ उन्नत लोकतन्त्र मात्रै हुने टिप्पणी गरेका छन्।









प्रतिक्रिया दिनुहोस्