काठमाडौँ । खर्च कटौती र मितव्ययी शासन व्यवस्थाका लागि सरकारले कर्मचारी संख्यामा कमी गर्ने तयारी गरेको छ। नयाँ सरकार बनेसँगै सिंहदरबारमा मंगलबार बसेको मुख्यसचिवसहितका सचिवहरूको बैठकले संगठन तथा व्यवस्थापन (O&M) सर्वेक्षणमार्फत दरबन्दी कटौती गर्ने निर्णय गरेको हो। बैठकले संघीय सरकार मातहत रहेका जम्मा दरबन्दीमध्ये २० प्रतिशत घटाउने र अनावश्यक देखिएका निकायहरूलाई खारेज, गाभ्ने वा हस्तान्तरण गर्ने प्रक्रिया तत्काल सुरु गर्ने निष्कर्ष निकालेको छ।
सचिवहरूको भनाइअनुसार मन्त्रालय, सचिवालय, आयोग र विभिन्न कार्यालयबाट सुरु हुने यस प्रक्रिया अन्तर्गत १० हजारभन्दा बढी दरबन्दी कटौती हुने अनुमान गरिएको छ। संशोधित दरबन्दी स्वीकृतिको प्रस्ताव असोजभित्र मन्त्रिपरिषद्मा पेश गरिनेछ र अन्तिम निर्णय मन्त्रिपरिषद्ले गर्नेछ।
त्यसैगरी खर्च घटाउन सचिवहरूको बैठकले अबदेखि सबै तालिम, गोष्ठी र कार्यक्रम सरकारी भवन वा हलमै गर्नुपर्ने र कर्मचारीले कुनै बैठक भत्ता नलिने व्यवस्था लागू गर्ने निर्णय गरेको छ। साथै, अनलाइन सेवाको विस्तारलाई प्राथमिकतामा राखिने बैठकमा जानकारी दिइएको छ।










प्रतिक्रिया दिनुहोस्