काठमाडौँ — राष्ट्रपति कार्यालयले हालैको “जेन–जेड” आन्दोलनका क्रममा लुटपाटमा परेका भौतिक सामग्री फिर्ता गर्न सार्वजनिक अपिल गरेको छ। आन्दोलनका दिनहरूमा कार्यालय परिसरभित्र रहेका कम्प्युटर, ल्यापटप, प्रिन्टर, स्क्यानर, टिभी, कुर्सी र अन्य कार्यालय प्रयोगका सामग्री चोरी भएको कार्यालयले जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै राष्ट्रपति कार्यालयले ती सम्पत्ति राष्ट्रकै स्वामित्वमा पर्ने भएकाले भेटिएको वा कसैको साथमा रहेको अवस्थामा तुरुन्तै फिर्ता बुझाउन आग्रह गरेको हो। कार्यालयले सूचनामा उल्लेख गरेको छ, “कसैले राष्ट्रपतिको कार्यालय जि.खा.पा. नं. अंकित वा अंकित नभएका समान देख्नु भएमा, भेट्नु भएमा वा कुनै माध्यमबाट आफ्नो साथमा भएको अवस्थामा यस कार्यालयमा बुझाइ सहयोग गर्न अनुरोध गरिन्छ।”
कार्यालयले थप जानकारीसमेत दिँदै चोरी भएका सामान भेटिएमा राष्ट्रपति कार्यालयका सम्पर्क नम्बरमार्फत वा नजिकको सुरक्षा निकायलाई जानकारी दिन पनि आग्रह गरेको छ। यसरी सहयोग गर्नेले राष्ट्रपतिको कार्यालयलाई आन्तरिक व्यवस्था पुनःस्थापनामा महत्वपूर्ण योगदान पुर्याउने सूचनामा उल्लेख छ।
“जेन–जेड” आन्दोलनको क्रममा राष्ट्रपति कार्यालय मात्र नभई सिंहदरबार र अन्य सरकारी निकायका भवनहरूमा पनि आगजनी, तोडफोड र लुटपाट भएका थिए। आन्दोलन हिंसात्मक रुप लिँदा करिब ५१ जनाको मृत्यु र हजारभन्दा बढी घाइते भएको सरकारको तथ्याङ्कले जनाएको छ। हाल राजधानीसहित प्रमुख शहरहरूमा अवस्था सामान्य हुँदै गए पनि केही सरकारी कार्यालय अझै क्षतिग्रस्त छन्।
यसैबीच, राष्ट्रपतिको कार्यालय वरिपरि रहेका स्थानीय बासिन्दाले आन्दोलनका बेला कार्यालयभित्रबाट कार्यालय सामग्री बाहिरिएको दृश्य देखेको बताएका छन्। प्रहरी प्रशासनले यस्ता घटनामा संलग्न व्यक्तिहरूको खोजी भइरहेको जनाए पनि ठोस परिणाम अझै सार्वजनिक भएको छैन।
कार्यालय स्रोतका अनुसार फिर्ता बुझाइएका सामग्रीको सुरक्षित भण्डारण र पुनःप्रयोगका लागि छुट्टै समिति गठन गर्ने तयारी भएको छ। यसबाहेक, कार्यालयले तोडफोडमा परेका संरचना मर्मत तथा आवश्यक सजावटको काम पनि सुरु गरिसकेको छ।
राष्ट्रपति कार्यालयले पुनः बल दिँदै भनेको छ, “राष्ट्रको सम्पत्ति व्यक्तिगत स्वार्थका लागि प्रयोग नगरी राज्यलाई फिर्ता गर्नु प्रत्येक नागरिकको कर्तव्य हो। यसकारण, सम्पूर्ण सरोकारवालाहरूले यस अपिललाई गम्भीरतापूर्वक लिनु हुनेछ भन्ने विश्वास लिएका छौँ।”










प्रतिक्रिया दिनुहोस्