काठमाडौँ । अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले आज पदभार ग्रहण गर्दै छिन्। बिहान ११ बजे सिंहदरबारको पुरानो गृह मन्त्रालय परिसरमा बनेको नयाँ भवनमा पदभार ग्रहण गर्ने कार्यक्रम तय भएको प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ। प्रधानमन्त्रीलाई स्वागत गर्न सरकारी उच्च अधिकारीहरूलाई बिहानैदेखि सिंहदरबार बोलाइएको छ। कार्कीका लागि कार्यकक्ष पनि तयार गरिएको छ। उनी शुक्रबार बेलुकादेखि नै प्रधानमन्त्री निवास बालुवाटारमा बस्न थालेकी छन्।
अघिल्लो मन्त्रिपरिषद्को कार्यालयमा आन्दोलनका क्रममा आगजनी भएकाले जोगाइएका सामग्रीहरू नयाँ कार्यालयमा स्थानान्तरण गरिएको छ। त्यहाँ आवश्यक सरसफाइ, आन्तरिक सजावट र अन्य व्यवस्थापन पूरा भइसकेको छ। पूर्वप्रधानन्यायाधीश कार्की शुक्रबार अन्तरिम सरकारको प्रधानमन्त्रीमा नियुक्त भएकी हुन्। उनले आजकै दिन मन्त्रिपरिषद् विस्तार गर्ने तयारी गरिरहेकी छिन्, जसका लागि आन्तरिक छलफल र भेटघाट भइरहेको छ।
यस प्रक्रियामा सघाउन “जेन–जेड” आन्दोलन समूहले विभिन्न अनलाइन प्लेटफर्ममार्फत सुझाव संकलन गरिरहेको छ। कार्की नेतृत्वको सरकारले आउँदो फागुनमा प्रतिनिधि सभा निर्वाचन गराउने कार्यादेश पाएको छ। संसद् विघटन भइसकेको छ, तर यसलाई लिएर विभिन्न राजनीतिक दलहरूले असन्तुष्टि जनाएका छन्।










प्रतिक्रिया दिनुहोस्