images
images

काठमाडौं उपत्यकामा कर्फ्यु समय आंशिक घटाइयो

काठमाडौं । नेपाली सेनाले उपत्यकामा जारी निषेधाज्ञा तथा कर्फ्युको समय केही घटाउने निर्णय गरेको छ। जङ्गी अड्डा, जनसम्पर्क निर्देशनालयले शुक्रबार सार्वजनिक गरेको सूचनाअनुसार बिहान ६ बजेदेखि ११ बजेसम्म र साँझ ५ बजेदेखि ७ बजेसम्म अत्यावश्यक कामका लागि नागरिकलाई आवतजावत गर्न अनुमति दिइने छ।

सूचनामा भनिएको छ, “पछिल्लो सुरक्षा परिस्थिति विश्लेषण गर्दा नागरिकको जनधनको सुरक्षाका लागि निषेधाज्ञा र कर्फ्यु आदेशलाई निरन्तरता दिनुपर्ने देखिएकाले काठमाडौं, ललितपुर र भक्तपुर जिल्लाका सुरक्षा समितिहरूबाट नयाँ व्यवस्था गरिएको छ।” नयाँ प्रावधानअनुसार भदौ २७ गते बिहान ११ बजेदेखि साँझ ५ बजेसम्म निषेधाज्ञा कायम रहनेछ भने बेलुकी ७ बजेदेखि भदौ २८ गते बिहान ६ बजेसम्म कर्फ्यु लागु हुनेछ।

यस अवधिमा पनि एम्बुलेन्स, शववाहन, दमकल, स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, सञ्चारकर्मीका साथै खाद्यान्न, इन्धन, ग्यास, दूध, तरकारी, पानी र औषधि ढुवानी गर्ने सवारी साधनलाई छुट दिइनेछ। त्यसैगरी, विभिन्न सरकारी निकाय, मानव अधिकार आयोग, बैंक तथा वित्तीय संस्था लगायत सार्वजनिक संस्थानका कर्मचारीले सक्कल परिचयपत्र देखाएर कार्यालय आवतजावत गर्न पाउने व्यवस्था गरिएको छ।

आन्तरिक तथा अन्तर्राष्ट्रिय उडानका यात्रुहरूले भने टिकट देखाएर विमानस्थलसम्म आउजाउ गर्न सक्नेछन्।

प्रतिक्रिया दिनुहोस्