images
images

आन्दोलनको नाममा लुटपाट गर्ने २६ जना सेनाद्वारा पक्राउ

काठमाडौं आन्दोलनको नाममा लुटपाटमा संलग्न २६ जनालाई नेपाली सेनाले पक्राउ गरी प्रहरीको जिम्मा लगाएको छ। पक्राउ परेकामध्ये पाँच जना काठमाडौंको बानेश्वरस्थित राष्ट्रिय वाणिज्य बैंक लुटपाटमा संलग्न रहेका थिए भने अन्य २१ जना भक्तपुरको राधेराधेस्थित भाटभटेनी सुपरमार्केट, काठमाडौंको होटल हायात र बौद्ध क्षेत्रबाट पक्राउ परेका हुन्।

सेनाले जारी गरेको विज्ञप्तिअनुसार हाल देखिएका सुरक्षासम्बन्धी चुनौतीलाई मध्यनजर गर्दै विशेष सुरक्षा प्रक्रिया सुरु गरिएको छ। लुटपाट, आगजनी र अराजक गतिविधि नियन्त्रणका लागि समुदायलाई सक्रिय सहकार्य गर्न पनि सेनाले आग्रह गरेको छ।

विज्ञप्तिमा भनिएको छ कि कतै विध्वंसात्मक गतिविधि देखिएमा मोबाइल नम्बर ९८६३०२९०२९ मा ह्वाट्सएप वा भाइबरमार्फत जानकारी दिन सकिनेछ। स्थानीय समुदायलाई एकजुट भई घटनामा संलग्नहरुको निगरानी गर्न, सही सूचना आदानप्रदान गरी टोलछिमेक सुरक्षित राख्न र भ्रामक सूचनालाई बेवास्ता गरी तथ्यमा आधारित सूचना सम्प्रेषण गर्न समेत आह्वान गरिएको छ। गएराति पशुपति क्षेत्रमा प्रवेश गर्ने प्रयासलाई समेत सेनाले रोकथाम गरेको जनाएको छ।

प्रतिक्रिया दिनुहोस्