काठमाडौँ : आज ‘जेनजी’ पुस्ताको नाममा भएको प्रदर्शन हिंसात्मक बन्दै जाँदा देशभर कम्तीमा १९ जनाको ज्यान गएको छ भने तीन सय ४७ जना घाइते भएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विभिन्न अस्पतालमा घाइतेहरूको उपचार भइरहेको छ। सिभिल अस्पतालमा तीन जनाको मृत्यु भएको छ भने करिब एक सय जना उपचाररत छन्। वीर अस्पतालमा छ जनाको उपचार भइरहेको छ। राष्ट्रिय ट्रमा सेन्टरमा ५९ जना भर्ना भएका मध्ये उपचारकै क्रममा आठ जनाको मृत्यु भइसकेको छ।
बानेश्वरस्थित एभरेष्ट अस्पतालमा १०२ जना घाइतेको उपचार भइरहेको छ भने तीन जनाको ज्यान गएको छ। आठ जनालाई अन्य अस्पतालमा रेफर गरिएको मन्त्रालयले जनाएको छ। यस्तै, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चार जनाको उपचार भइरहेको छ। काठमाडौँ मेडिकल कलेज शिक्षण अस्पतालमा ३७ जना उपचाररत छन्, जसमा दुई जनाको मृत्यु भइसकेको छ। घाइतेमध्ये छ जनाको शल्यक्रिया गर्नुपर्ने अवस्था आएको मन्त्रालयले जनाएको छ। नर्भिक अस्पतालमा तीन जना उपचाररत छन्।
त्रिवि शिक्षण अस्पतालमा १८ जना घाइतेको उपचार भइरहेको छ भने एक जनाको मृत्यु भएको छ। काठमाडौँ बाहिर पनि घाइतेहरूको उपचार भइरहेको छ। गण्डकी मेडिकल कलेजमा एक जना, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दुई जना, विराट मेडिकल कलेजमा चार जना र दमक अस्पतालमा सात जना उपचाररत छन्।
धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भने दुई जनाको मृत्यु भएको पुष्टि भएको छ।










प्रतिक्रिया दिनुहोस्