भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले नेपालमै पहिलोपटक एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण सफलतापूर्वक सम्पन्न गरेको छ। शनिबार आयोजित पत्रकार सम्मेलनमा केन्द्रका कार्यकारी निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले यो उपलब्धिले देशमै नयाँ इतिहास रचेको बताएका छन्।
उनका अनुसार तेस्रोपटक मिर्गौला प्रत्यारोपण प्राविधिक दृष्टिले अत्यन्तै जटिल मानिने भए पनि सफलतापूर्वक सम्पन्न भएकाले अब नेपालमा जटिल प्रत्यारोपण पनि सम्भव भएको स्पष्ट भएको छ। भदौ ९ गते सुदूरपश्चिम प्रदेशका पूर्वमन्त्री तथा सांसद लक्ष्मणकिशोर चौधरीमा तेस्रो मिर्गौला प्रत्यारोपण सम्पन्न गरिएको र हाल उनी डिस्चार्ज भइसकेको जानकारी दिँदै डा. श्रेष्ठले भने, “सामान्यतया पहिलो प्रत्यारोपणपछि दीर्घकालीन रूपमा मिर्गौलाले काम गर्छ, तर इम्युनोलोजिकल अस्वीकार, संक्रमण वा अन्य कारणले असफल हुने अवस्था आउँछ।
यस्तो अवस्थामा दोस्रो प्रत्यारोपण गरिन्छ, तर तेस्रो प्रत्यारोपण भने अत्यन्तै दुर्लभ हुन्छ।” उनका अनुसार दाता पाउन कठिनाइ, औषधीय चुनौती र उच्च जोखिमका कारण विश्वभरै पनि तेस्रो मिर्गौला प्रत्यारोपण सीमित मात्रामा हुने गर्दछ। बेलायतमा यस्ता जोखिमपूर्ण शल्यक्रियामा संलग्न भइसकेको अनुभवकै आधारमा नेपालमा यसलाई सम्भव बनाउन सफल भएको उनले बताए।
चौधरीको पहिलो मिर्गौला प्रत्यारोपण भारतको लखनऊमा भएको थियो भने दोस्रो (वि.सं. २०७२) र हालै सम्पन्न तेस्रो प्रत्यारोपण दुवै सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमै डा. श्रेष्ठकै नेतृत्वमा गरिएको हो। तेस्रो प्रत्यारोपण ‘पेयर एक्सचेन्ज’ प्रणालीमार्फत गैरनातेदारबीच अंग साटासाट गरेर गरिएको हो।
नेपालमा दोस्रो मिर्गौला प्रत्यारोपणको अभ्यास सन् २०१० मा वीर अस्पतालमा डा. श्रेष्ठकै नेतृत्वमा सुरु भएको थियो। तर तेस्रो प्रत्यारोपण भने नेपालकै चिकित्सा इतिहासमा अत्यन्तै दुर्लभ उपलब्धि भएको केन्द्रले जनाएको छ। स्थापनाको १३ वर्षमा सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले हालसम्म १,५०२ जनामा सफल मिर्गौला प्रत्यारोपण र ३५ जनामा कलेजो प्रत्यारोपण सम्पन्न गरिसकेको जनाएको छ।









प्रतिक्रिया दिनुहोस्