पूर्वराष्ट्रपति विद्या देवी भण्डारीले एमाले विधान महाधिवेशनका प्रतिनिधिहरूलाई पत्रमार्फत आफ्ना विचार राख्दै पार्टी सदस्यता नवीकरणको विषयमा स्पष्टिकरण दिएकी छन्। पार्टी नेतृत्वकै सल्लाहमा सदस्यता नवीकरण गरेपछि अहिले आएर त्यही नेताहरूले प्रश्न उठाउन थालेको भन्दै उनले आश्चर्य प्रकट गरेकी छन्। भण्डारीले भनिन्, “राष्ट्रपतिको जिम्मेवारीबाट सामान्य नागरिकको रूपमा फर्किएपछि पार्टी नेतृत्वकै सल्लाहअनुसार मैले सदस्यता नवीकरण गरेकी हुँ।
तर पछिल्ला दिनमा केही जिम्मेवार नेताहरूले मेरो सदस्यता नवीकरण नभएको भन्दै सार्वजनिक रुपमा अभिव्यक्ति दिँदा पार्टीभित्र अन्यौल र जनतामा भ्रम फैलिएको छ।” उनले पार्टी नेतृत्वको यस्तो व्यवहार लोकतान्त्रिक संस्कारसँग मेल नखाने टिप्पणी गर्दै आफ्नो नवीकृत सदस्यता वैधानिक प्रक्रिया भित्रै रहेको दाबी गरिन्।
पार्टी एकता, समझदारी र सक्रियताको आवश्यकता रहेको भन्दै उनले प्रतिनिधिहरूलाई आफ्नो सदस्यता कायम गर्ने निर्णयमा सकारात्मक धारणा बनाउने अपेक्षा पनि गरिन्। एमालेले भण्डारीको सदस्यता नवीकरणमा रोक लगाएपछि उनले समानान्तर गतिविधि गर्दै आएकी छिन्।
यस विषयमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले सचिवालय बैठकमा फरक मत राखेका छन् भने केन्द्रीय सदस्य कर्ण थापाले महाधिवेशनमा छुट्टै दस्तावेज प्रस्तुत गर्ने तयारी गरेका छन्। उक्त दस्तावेजमा पोखरेलसहित तीन उपाध्यक्षहरूको समर्थन रहेको बताइन्छ। यस्तै, पार्टीभित्र सदस्यता विवाद चुलिँदै जाँदा भण्डारीले महाधिवेशनमा उपस्थित २३४१ प्रतिनिधिलाई सम्बोधन गर्दै भावुक पत्र पठाएकी हुन्।










प्रतिक्रिया दिनुहोस्