काठमाडौं : आउँदो दसैँमा काठमाडौं उपत्यकाबाट बाहिरिने र फर्किने यात्रुका लागि नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग परीक्षण स्वरूप सञ्चालन गर्ने तयारी भइरहेको छ। भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार यस विषयमा परामर्शदाता, ठेकेदार र सरोकारवाला निकायसँग छलफल भइरहेको छ।
मन्त्रालयका सचिव केशवकुमार शर्माले दसैँलाई लक्षित गरेर सुरुङमार्ग प्रयोगबारे विशेष तयारी भइरहेको बताए। उनले भने, “सुरक्षाको कुरा महत्त्वपूर्ण भएकाले कन्सल्टेन्ट र कन्ट्र्याक्टरसँग निरन्तर छलफल भइरहेको छ। दसैँका बेला एकतर्फी रूपमा उपत्यकाबाट बाहिरिने र दसैँपछि फर्किने बसलाई सुरुङमार्ग प्रयोग गराउने योजना छ।”
आयोजनाका अनुसार हालसम्म सुरुङमार्गको करिब ९५ प्रतिशत काम सम्पन्न भइसकेको छ र अन्तिम परीक्षण चरणमा प्रवेश गरेको छ। नागढुङ्गा सुरुङमार्ग निर्माण आयोजनाका परामर्शदाता इन्जिनियर रमेश कोइरालाका अनुसार सबै उपकरण र सुविधाको अन्तिम जाँच भइरहेको छ।
सुरक्षाका लागि आवश्यक सीसीटीभी क्यामेरा, उद्धार सुरुङ (इभ्याकुएसन टनेल), धुवाँ नियन्त्रण प्रणाली, आगलागी नियन्त्रण उपकरण, ११ केभीको विशेष विद्युत आपूर्ति लाइन, स्ट्यान्डबाई जेनेरेटर र इन्भर्टर लगायतका पूर्वाधार परीक्षणमा छन्। यी सबै परीक्षण सफल भएपछि मात्रै सुरुङमार्गलाई औपचारिक रूपमा सञ्चालनमा ल्याइनेछ।









प्रतिक्रिया दिनुहोस्