images
images

प्रधानमन्त्री ओली तियान्जिन प्रस्थान, राष्ट्रपति सीसँग भेटवार्ता हुने

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली जनवादी गणतन्त्र चीनका राष्ट्रपति सी चिनफिङको मैत्रीपूर्ण निमन्त्रणामा साङ्घाई सहयोग संगठन (एससीओ) शिखर सम्मेलनमा भाग लिन २३ सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आज चीनको तियान्जिन प्रस्थान गरेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा उपप्रधानमन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा तथा मुख्यसचिव एकनारायण अर्यालले प्रधानमन्त्रीलाई बिदाइ गरे।

बिदाइका अवसरमा नेपाल सरकारका उच्चपदस्थ अधिकारी, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख र नेपालस्थित चिनियाँ राजदूतावासका प्रतिनिधिहरू उपस्थित थिए। त्यसअघि नेपाली सेनाको एक टुकडीले प्रधानमन्त्रीलाई सम्मान गारत अर्पण गरेको थियो। प्रधानमन्त्री ओलीले सेप्टेम्बर १ मा तियान्जिनमा आयोजना हुने शिखर सम्मेलनलाई सम्बोधन गर्ने र चीनका राष्ट्रपति सी चिनफिङसँग विशेष भेटवार्ता गर्ने कार्यक्रम छ।

सोही क्रममा उनले सेप्टेम्बर २ मा बेइजिङमा चीनका उपराष्ट्रपति हान झेङसँग पनि भेटवार्ता गर्नेछन्। साथै, सेप्टेम्बर ३ मा बेइजिङमा आयोजना हुने चीनको ८०औँ वार्षिकोत्सवका स्मृति कार्यक्रममा पनि प्रधानमन्त्री ओली सहभागी हुनेछन्। शिखर सम्मेलनका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न मित्रराष्ट्रका सरकार तथा राष्ट्रप्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यतालिका रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

ती भेटवार्तामा नेपाल र सम्बन्धित मुलुकबीचको आपसी हितका विषय तथा क्षेत्रीय–वैश्विक प्राथमिकताबारे छलफल हुने अपेक्षा गरिएको छ। सन् २०१६ देखि संवाद साझेदारको रूपमा एससीओसँग आबद्ध नेपालका लागि यस शिखर सम्मेलनलाई उच्च कूटनीतिक अवसरका रूपमा लिइएको छ।

प्रतिक्रिया दिनुहोस्