काठमाडौं – पहिलो भू–उपग्रह (नेपाली स्याट–१) प्रक्षेपण भएको साढे पाँच वर्षपछि नेपालले दोस्रो नानो भूउपग्रह ‘मुनाल’ प्रक्षेपणको तयारी अघि बढाएको छ। नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)ले अन्तरिक्ष प्रतिष्ठान नेपाल र काठमाडौँ विश्वविद्यालय हाईअर स्कुलसहितका संस्थाको सहकार्यमा मुनाल प्रक्षेपणको अन्तिम चरण तयारी भइरहेको जनाएको छ। प्राविधिक कारणले केही ढिलाइ भए पनि अब भारतीय अन्तरिक्ष अनुसन्धान संगठन (इस्रो) अन्तर्गत न्यु स्पेस इन्डिया लिमिटेडको सहयोगमा प्रक्षेपण हुने भएको हो।
सन् २०१९ (२०७६ वैशाख ४) मा अमेरिकाको भर्जिनियास्थित नासा हेडक्वाटरमार्फत नेपाली स्याट–१ प्रक्षेपण गरिएको थियो। करिब एक किलो तौल भएको मुनाल भने पहिलेको भन्दा परिस्कृत मानिएको छ।
वैज्ञानिक डा. आभास मास्केका अनुसार यसमा दुईवटा क्यामरा जडान गरिएको छ, जसले आरजिबी र एनआइआर ब्यान्डका तस्बिर लिन सक्छ। एआई प्रणालीले उपयुक्त स्थान छानेर तस्बिर खिच्न सहयोग गर्नेछ। यो उपग्रह निर्माणमा करिब दुई करोड रुपैयाँ खर्च भएको छ। नास्टका सचिव डा. रविन्द्र ढकालका अनुसार आगामी अक्टोबरभित्रै मुनालको प्रक्षेपण सम्पन्न हुनेछ।













प्रतिक्रिया दिनुहोस्