images
images

नाडा अटो शो : नयाँ पुस्ताका लागि सुरक्षित र दिगो मोबिलिटीको सन्देश

काठमाडौं । अटोमोबाइल व्यवसायीहरूको छाता संगठन अटोमोबाइल्स एसोसिएसन अफ नेपाल (नाडा) को आयोजनामा भदौ ३ गतेदेखि शुरु भएको ‘नाडा अटो शो २०२५’ ले पहिलो दिनमै ऐतिहासिक उपस्थिति थियाे। नाडा कार्यसमिति सदस्य मेघराज पौडेलका अनुसार मंगलबार मात्र १९ हजार ७०१ जना अवलोकनकर्ताले मेलामा सहभागिता जनाए। उनले भने, “पहिलो दिनमै रेकर्ड तोड्ने उपस्थिति र गाडी बुकिङले हामीलाई उत्साहजनक सन्देश दिएको छ।”

शोमा सहभागी नहुने कम्पनीहरूले ठूलो अवसर गुमाएको उनले टिप्पणी गरे। यस वर्षको अटो शोको मुख्य आकर्षण ‘फ्लाइङ ट्याक्सी’ र मानवीकृत रोबोट रहेका छन्। पौडेलका अनुसार यी नवप्रविधि नेपालमा सुरक्षित, दिगो र भविष्यमुखी मोबिलिटीको सन्देश दिन प्रदर्शनमा राखिएका हुन्।

चीनबाट धरौटीमा ल्याइएको फ्लाइङ ट्याक्सी मेलापछि फिर्ता पठाइनेछ। उनले नेपालमा यस्ता प्रविधि भित्र्याउन आवश्यक नीतिगत तयारी सुरु गर्नुपर्नेमा जोड दिँदै, भविष्यमा छोटो दूरी, रेस्क्यु र सुरक्षित यात्रामा यसको प्रयोग सम्भव हुने धारणा राखे। शोमा इभी (इलेक्ट्रिक भेहिकल्स) को पनि उल्लेखनीय सहभागिता रहेको छ। बिवाईडी, डिपल, अवतारलगायतका ब्रान्डका गाडी प्रदर्शनमा राखिएका छन्।

३० भन्दा बढी सवारीसाधन ब्रान्डसहित टायर, लुब्रिकेन्ट्स लगायत सम्बन्धित स्टलहरू समेत अटो शोमा रहेका छन्। केही कम्पनीहरूले नयाँ मोडेलको गाडी समेत यसै शोमार्फत लन्च गरेका छन्। प्रवेश टिकटको दर दुई सय रुपैयाँ तोकिएको यो मेला भदौ ८ गतेसम्म चल्नेछ।

प्रतिक्रिया दिनुहोस्