images
images

प्रधानमन्त्री ओलीलाई मोदीको निमन्त्रणासहित नेपाल आउँदै भारतीय विदेश सचिव

काठमाडौँ – भारतीय विदेश सचिव बिक्रम मिश्री आज आइतबार अपरान्ह नेपाल आउँदैछन्। उनी प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारत भ्रमणको औपचारिक निमन्त्रणापत्र हस्तान्तरण गर्न काठमाडौँ आउने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार भारतले प्रधानमन्त्री ओलीलाई आगामी भदौ ३१ देखि असोज १ गतेसम्म भारत भ्रमण गर्न प्रस्ताव गरेको छ, तर भ्रमणको अन्तिम मिति भने अझै तय भएको छैन।

नेपालमा रहँदा मिश्रीले प्रधानमन्त्री ओलीसँग भेटवार्ता गरी भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट निमन्त्रणा दिनेछन्। साथै उनले राष्ट्रपति, परराष्ट्रमन्त्री र परराष्ट्रसचिवलगायत उच्च अधिकारीहरूसँग पनि भेटवार्ता गर्ने कार्यक्रम छ। परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा नेपाल आउन लागेका मिश्री सोमबार स्वदेश फर्किनेछन्।

भ्रमणका क्रममा दुई देशका सचिवबीच नेपाल–भारत साझेदारी, कनेक्टिभिटी, विकास सहयोग र आपसी चासोका विषयमा छलफल हुने परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्