सर्लाही — सर्लाहीको बागमती नगरपालिकाका प्रमुख भरत थापासहित तीन जनालाई विशेष अदालतले नदीजन्य पदार्थ हिनामिना प्रकरणमा ८ वर्ष कैदको सजाय सुनाएको छ। अदालतका अध्यक्ष न्यायाधीश टेकनारायण कुँवर तथा सदस्य न्यायाधीशद्वय मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले साउन २१ गते दोषी ठहर गरेपछि बिहीबार सजाय निर्धारण गरेको हो। दोषी ठहर हुने अन्य दुई जना नगरपालिका अधिकृत विमलकुमार पोखरेल र योजना शाखा प्रमुख सागर पौडेल हुन्।
तीनै जनालाई जनही ८ वर्ष कैदसहित १० करोड ९ लाख ७८ हजार २९९ रुपैयाँ १३ पैसाका दरले असुलउपर गर्ने आदेश दिइएको छ। साथै, पीडित राहत कोषमा जनही ४० लाख ३९ हजार १३१ रुपैयाँ ९७ पैसा बुझाउने फैसला गरिएको छ। अदालतका अनुसार उनीहरूले ३० करोड २९ लाख ३४ हजार ८९७ रुपैयाँ ४० पैसा बराबरको नदीजन्य पदार्थ हिनामिना गरी भ्रष्टाचार गरेको प्रमाणित भएको हो।
यसअघि विशेष अदालतले मेयर थापालाई गैरकानुनी सम्पत्ति आर्जन प्रकरणमा एक वर्ष कैद र तीन करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ बिगो बराबरको जरिवाना तोकेको थियो। यस्तै, उपमेयर लीलाकुमारी मोक्तान, तत्कालीन लेखा अधिकृत विश्वराज पोखरेल र जिल्ला समन्वय समितिका तत्कालीन प्रमुख मेथुर चौधरी भने यस प्रकरणमा सफाइ पाएका छन्।














प्रतिक्रिया दिनुहोस्