दोलखा — दोलखाको बिगु गाउँपालिका–१, लामाबगरस्थित ४५६ मेगावाटको माथिल्लो तामाकोशी जलविद्युत् आयोजना आगामी साउन ३१ गते (शनिवार) बिहान ५ बजेदेखि राति ८ बजेसम्म जलासय सफा गर्ने भएको छ। सफा गर्ने क्रममा तामाकोशी नदीमा पानीको सतह घटबढ हुने भएकाले नदी किनार तथा तटीय क्षेत्रमा बसोबास गर्ने स्थानीयलाई सतर्क रहन आग्रह गरिएको छ।
अपर तामाकोशी हाइड्रोपावर लिमिटेडका प्रमुख कार्यकारी अधिकृत मोहनप्रसाद गौतमका अनुसार वर्खामा बाढीका कारण जलासयमा थुप्रिएको बालुवा र गिट्टी हटाउन यो सरसफाइ गरिँदैछ। कम्पनीले सरसफाइ अवधिभर नदीमा माछा मार्ने, पौडी खेल्ने, नुहाउने, लुगा धुने, वस्तुभाउ लैजाने, गिटीबालुवा निकाल्ने तथा गाडी तार्ने जस्ता कार्य नगर्न अनुरोध गरेको छ।
सतर्कता आवश्यक पर्ने स्थानमा लामाबगर, छ्योतछ्योत, गोंगर, जगत, टुनिटार, जामुने, भोर्ले, सिंगटी, नयाँ पुल, किर्ने, खिम्ती हुँदै सुनकोशी नदीको दोभानसम्मका क्षेत्र पर्छन्। साथै, दाहसंस्कार वा अन्य धार्मिक संस्कार गर्नुपरेमा विशेष सावधानी अपनाउन पनि आग्रह गरिएको छ। आयोजनाले सरसफाइको दिनभर विद्युत् उत्पादन बन्द रहने जनाएको छ।












प्रतिक्रिया दिनुहोस्