images
images

चेलीलाई निशुल्क दर खुवाउँदै बलेवा सेवा समाज जापान

टोकियो । बलेवा सेवा समाज जापानले आगामी २०२५ अगस्ट १७ (आईतबार) का दिन ‘तीज धमाका २०२५ तथा दर खाने कार्यक्रम’ आयोजना गर्ने भएको छ। शिक्षा, स्वास्थ्य तथा विपन्न बिरामीलाई सहयोग गर्दै सामाजिक कार्यमा सक्रिय रहँदै आएको संस्थाले परदेशी नेपाली चेलीलाई गाउँघर र माईतिघरको झल्को दिने उद्देश्यले यो कार्यक्रम गर्ने जनाएको हो।

मिनी नेपाल–शिनओकुबुस्थित सोलमारी मुरा हलमा हुने कार्यक्रममा जापानमा लोकप्रिय लोकदोहोरी गायिका तथा डान्सर रितु थापा मगर, चर्चित गायक खेमराज पौडेल र गायिका सृजना कुवरले प्रस्तुति दिनेछन्। संस्थाले यो कार्यक्रमलाई मौलिक संस्कृति र परम्पराको पुस्तान्तरणमा योगदान पुर्‍याउने अपेक्षा राखेको छ।

कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको संयोजक तथा संस्थाका वरिष्ठ उपाध्यक्ष सुरेन्द्र पौडेल (प्रेम) ले जानकारी दिएका छन्। कार्यक्रममा बलेवाली मात्र नभई सबै नेपाली दिदीबहिनी, दाजुभाइ तथा अभिभावकलाई सहभागिताको निमन्त्रणा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्