images
images

ग्लोबल आइएमई बैंकको नाफा १.१० प्रतिशत बढ्यो

ग्लोबल आइएमई बैंक लिमिटेड (GBIME) ले आर्थिक वर्ष २०८२ को चौथो त्रैमासको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार बैंकले गत वर्षको सोही अवधिको तुलनामा नाफामा सामान्य वृद्धि गरेको छ।

आर्थिक वर्ष २०८२ को अन्त्यसम्ममा बैंकले ६ अर्ब २० करोड ४७ लाख रुपैयाँ खुद नाफा कमाएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको ६ अर्ब १३ करोड ७४ लाख रुपैयाँ नाफाभन्दा १.१० प्रतिशत बढी हो। इम्पेरमेन्ट चार्ज बढेपछि बैंकको नाफा दबाबमा परेको देखिन्छ।

समीक्षा अवधिमा खुद ब्याज आम्दानी ०.८५ प्रतिशत घटेर १६ अर्ब ७२ करोड रुपैयाँमा झरेको छ भने खुद शुल्क तथा कमिशन आम्दानी २०.१२ प्रतिशतले बढेर ३ अर्ब २२ करोड रुपैयाँ पुगेको छ। कुल सञ्चालन आम्दानी ३.०१ प्रतिशतले बढेको भए पनि इम्पेरमेन्ट चार्ज ३ अर्ब ६१ करोड रुपैयाँबाट बढेर ४ अर्ब ३० करोड रुपैयाँ पुगेपछि सञ्चालन मुनाफा २.७५ प्रतिशत घटेर ८ अर्ब ७७ करोड रुपैयाँमा सीमित भएको छ।

प्रतिशेयर आम्दानी (EPS) १८ पैसा बढेर १६ रुपैयाँ २८ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ ६३ पैसा भएको छ। बैंकको चुक्ता पूँजी ३८ अर्ब ११ करोड रुपैयाँ पुगेको छ र जगेडा तथा सञ्चित कोषमा २९ अर्ब ५८ करोड रुपैयाँ रहेको छ।

गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकले ५ खर्ब ५० अर्ब रुपैयाँ निक्षेप संकलन गरी ४ खर्ब ११ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेको छ। सो अवधिमा वितरणयोग्य मुनाफा ५ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य प्रतिशेयर आम्दानी १४ रुपैयाँ ११ पैसा रहेको छ।

प्रतिक्रिया दिनुहोस्