images
images

भारतमा गएको बाढीमा २६ नेपाली बेपत्ता : दूतावास

काठमाडौं — भारतको उत्तराखण्डमा गएको बाढीमा २६ जना नेपाली बेपत्ता भएका छन्।
दिल्लीस्थित नेपाली दूतावासका अनुसार उत्तरकाशीको धराली क्षेत्रमा २१ र पौडीगढवालको बंकुरामा ५ जना गरी कुल २६ नेपाली बेपत्ता छन्। धरालीमा हराएकामा जनकबहादुर शाही, रवि सिंह, करणबहादुर, रोविन सिंह, गगनबहादुर, गोरखबहादुर, रामबहादुर शाही, हरिबहादुर खड्का, प्रभाती, केशव, निर्मला खड्का, लक्ष्मण, सुवास विक, रमेश, प्रिया, दिपक मगर, सुरज राना, मानबहादुर, नीम बहादुर, रवि सिंह र रामबहादुर छन्।

त्यस्तै, पौडीगढवालमा बेपत्ता भएकामा नरेन्द्र खड्का, सन्ध्या खड्का, रोमन खड्का, अमृता परियार र बिमल विक रहेका छन्।गत मंगलबार आरीघोप्टे वर्षापछि खिरगंगा नदीमा आएको बाढीले गंगोत्री मार्गअन्तर्गत पर्ने धराली बजार पूर्णरूपमा क्षतिग्रस्त भएको दूतावासले जनाएको छ। सो क्षेत्रमा होटल तथा स्याउ फार्ममा काम गर्न गएका नेपालीहरू बाढीमा परेका अनुमान गरिएको छ।

धराली क्षेत्रमा फोन र विद्युत सेवा पुनः सञ्चालन भएपछि खोजी कार्य तीव्र पारिएको दूतावासले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्