काठमाडौं — प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा मन्त्री फेरबदलबारे नेपाली कांग्रेस र नेकपा एमालेका शीर्ष नेताबीच आइतबार बालुवाटारमा छलफल भएको छ। प्रधानमन्त्रीको सरकारी निवासमा भएको भेटमा एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले उपाध्यक्ष एवं उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल र गृहमन्त्री तथा कांग्रेस नेता रमेश लेखक सहभागी थिए।
बैठकमा सहभागी एक नेताका अनुसार प्रधानमन्त्री ओलीले सरकारको कार्यसम्पादन प्रभावकारी बनाउन केही मन्त्री परिवर्तन गर्ने प्रस्ताव राखेका थिए। उनका अनुसार ओलीले, “केही मन्त्रीको काम सन्तोषजनक भएन, केही विवादमा समेत परे,” भन्दै नयाँ मन्त्री नियुक्त गर्नुपर्ने आवश्यकता औंल्याए। तर, देउवाले पार्टीभित्र पुनः विवाद उत्पन्न हुने भन्दै तत्काल मन्त्री हेरफेर नगर्न सुझाव दिएका थिए। “पार्टीभित्रको समीकरण बल्ल मिलाएको छु, अहिले फेरि विवाद निम्त्याउने अवस्था छैन,” देउवाको भनाइ उद्धृत गर्दै स्रोतले बताए।
सरकार गठनपछि एमालेले अहिलेसम्म दुई मन्त्री—शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराई र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजकुमार गुप्ता—लाई परिवर्तन गरिसकेको छ। उनीहरूको स्थानमा क्रमशः रघुजी पन्त र भगवती न्यौपाने नियुक्त भएका छन्।कांग्रेसले भने अहिलेसम्म आफ्ना मन्त्री परिवर्तन गरेको छैन। बैठकमा भूमि विधेयक, राष्ट्रपति रामचन्द्र पौडेलले फिर्ता पठाएको संवैधानिक परिषद्सम्बन्धी विधेयक तथा संघीय निजामती कर्मचारी विधेयकबारे पनि छलफल भएको तर निष्कर्षमा नपुगेको स्रोतले जानकारी दियो।










प्रतिक्रिया दिनुहोस्