काठमाडौँ — सूचना तथा प्रसारण विभागले अनलाइन सञ्चारमाध्यमको दर्ता र नवीकरण प्रक्रिया हाललाई स्थगित गरेको छ। विभागले मंगलबार सूचना जारी गर्दै अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ता जिल्ला प्रशासन कार्यालयबाट हुने नयाँ कानुनी व्यवस्थाका कारण विभागबाट हुने दर्ता तथा नवीकरण कार्य रोकिएको जानकारी दिएको हो। विभागका अनुसार ‘छापाखाना तथा प्रकाशनसम्बन्धी ऐन, २०४८’ मा हालै संशोधन भई थपिएको दफा ७ (ख) अनुसार अनलाइन सञ्चारमाध्यम दर्ता अनिवार्य गरिएको छ। उक्त व्यवस्थाअनुसार अब अनलाइन सञ्चारमाध्यम सञ्चालन गर्न इच्छुक व्यक्तिहरूले तोकिएको दस्तुरसहित स्थानीय प्रशासन (जिल्ला प्रशासन कार्यालय) मा निवेदन दिनुपर्नेछ।
यसअघि विभागले ‘अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३’ अनुसार अनलाइन पत्रिकाहरूको दर्ता तथा नवीकरणको प्रक्रिया सञ्चालन गर्दै आएको थियो। तर, अब सो निर्देशिकालाई नयाँ कानुनी व्यवस्थासँग समन्वय गर्न आवश्यक देखिएकाले प्रक्रिया अस्थायी रूपमा स्थगन गरिएको विभागले स्पष्ट पारेको छ।
विभागद्वारा जारी सूचनामा भनिएको छ, “राजपत्रमा प्रकाशित सूचनाका आधारमा यस विभागबाट अनलाइन सञ्चारमाध्यम सञ्चालन निर्देशिका, २०७३ बमोजिम हुँदै आएको अनलाइन सञ्चारमाध्यम (अनलाइन पत्रिका) दर्ता तथा नवीकरणको कार्य स्थगन गरिएको व्यहोरा जानकारीका लागि अनुरोध छ।” यससँगै अबदेखि अनलाइन सञ्चारमाध्यम दर्ताका लागि विभाग होइन, सम्बन्धित जिल्ला प्रशासन कार्यालयमा निवेदन दिनुपर्नेछ।















प्रतिक्रिया दिनुहोस्