काठमाण्डौं — गाउँपालिका राष्ट्रिय महासङ्घले कक्षा १२ र एसईई परीक्षाको नतिजामा आएको सुधारप्रति उत्साह व्यक्त गर्दै उच्च शिक्षाका लागि तयार भएका विद्यार्थीलाई नेपालमै गुणस्तरीय शिक्षा प्राप्त गर्ने अवसर सिर्जना गर्न सरकारसँग आग्रह गरेको छ।
महासङ्घकी अध्यक्ष लक्ष्मीदेवी पाण्डेले आज एक विज्ञप्ति जारी गर्दै विद्यार्थीहरूले स्वदेशमै चाहेका विषय अध्ययन गर्न सक्ने वातावरण बनाउनुपर्नेमा जोड दिनुभएको हो। उहाँले सरकारलाई विदेश पढ्न जाने प्रवृत्तिलाई न्यून गर्न नेपालमै उच्च शिक्षाको गुणस्तर सुधार्न ध्यान दिन आग्रह गर्नुभएको छ। राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा अनुसार ६१.१७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्। यो गत वर्षको तुलनामा ९.०२ प्रतिशतले बढी हो। यसअघि सार्वजनिक भएको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजामा पनि उल्लेखनीय सुधार देखिएको थियो।
कक्षा १२ को नतिजा सार्वजनिक भएलगत्तै हिजो प्रधानमन्त्री केपी शर्मा ओलीले पनि उत्तीर्ण विद्यार्थीहरूलाई बधाई दिँदै नेपालमै पढ्न आह्वान गर्नुभएको थियो।महासङ्घले विद्यालय शिक्षाको गुणस्तर अभिवृद्धि गर्न स्थानीय तहमा हुने वित्तीय हस्तान्तरणको परिमाण बढाउन र विद्यालय शिक्षासम्बन्धी संघीय कानुन यथासक्य चाँडो जारी गर्न नेपाल सरकार र संघीय संसद्को गम्भीर ध्यानाकर्षण गराएको छ।












प्रतिक्रिया दिनुहोस्