साउन २१, काठमाडौं — आज (बुधबार) दिउँसो र राति देशभरका विभिन्न स्थानहरूमा पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। महाशाखाले आज बिहान ६ बजे जारी गरेको २४ घण्टे बुलेटिन अनुसार दिउँसो कोसी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भेगहरूमा अधिकांश स्थानमा बादल लाग्नेछ भने बाँकी क्षेत्रमा आंशिक बदली रहनेछ।
लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित कोसी प्रदेशको पहाडी क्षेत्रका केही स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। त्यस्तै, कोसी र सुदूरपश्चिमका एक–दुई स्थानहरूमा भारी वर्षा पर्न सक्ने प्रक्षेपण गरिएको छ। रातिको समय देशभर साधारण बदली रहनेछ। कोसी प्रदेशसहित देशका पहाडी भूभागका केही स्थानहरू र बाँकी तराई भूभागका थोरै स्थानमा मध्यम वर्षा हुन सक्ने देखिएको छ। कोसी प्रदेशका एक–दुई स्थानहरूमा राति पनि भारी वर्षा हुनसक्ने महाशाखाले जनाएको छ।
महाशाखाका अनुसार २४ घण्टामा १० मिलिमिटरभन्दा कम पानी परे हल्का वर्षा मानिन्छ। १० देखि ५० मिलिमिटरसम्म परे मध्यम वर्षा, ५० देखि १०० मिलिमिटरसम्म परे भारी वर्षा, १०० देखि २०० मिलिमिटरसम्म परे धेरै भारी वर्षा र २०० मिलिमिटरभन्दा माथि परे अति भारी वर्षा मानिन्छ।
त्यस्तै, एक–दुई स्थानमा पानी पर्नु भनेको सम्बन्धित प्रदेशको १० प्रतिशतभन्दा कम क्षेत्रमा वर्षा हुने सम्भावना देखिनु हो। १० देखि ३० प्रतिशत क्षेत्रमा पानी पर्ने सम्भावना भए थोरै स्थानमा वर्षा, ३० देखि ५० प्रतिशत क्षेत्रमा भए केही स्थानमा वर्षा, ५० देखि ८० प्रतिशत क्षेत्रमा भए धेरै स्थानमा वर्षा र ८० प्रतिशतभन्दा बढी क्षेत्र ओगट्ने सम्भावना भए अधिकांश स्थानमा वर्षा हुन सक्ने जनाइएको छ।









प्रतिक्रिया दिनुहोस्