images
images

कर्णाली प्रदेशमा ९६% रोपाइँ सम्पन्न, जुम्ला–हुम्लामा शतप्रतिशत

कर्णाली प्रदेशमा यस वर्षको धान रोपाइँ ९६ प्रतिशत पूरा भएको छ। कृषि विकास निर्देशनालयका अनुसार प्रदेशका ४१ हजार ४२ हेक्टर धानखेतीयोग्य जमिनमध्ये ३९ हजार ५९४.९ हेक्टरमा रोपाइँ भइसकेको छ। निर्देशनालयका निमित्त निर्देशक तिलकप्रसाद पाण्डेका अनुसार जुम्ला, हुम्ला र डोल्पा जिल्लामा शतप्रतिशत रोपाइँ सम्पन्न भएको छ। जुम्लामा २८९० हेक्टर, हुम्लामा ५८५ हेक्टर र डोल्पामा १९८ हेक्टरमा रोपाइँ सकिएको छ।

चार जिल्लामा रोपाइँ ९९ प्रतिशत नजिक पुगेको छ। जाजरकोटमा २६४५ हेक्टरमध्ये २६२३ हेक्टर, सल्यानमा ६१३४ हेक्टरमध्ये ६०७२ हेक्टर, मुगु र रुकुम पश्चिममा पनि करिब ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको छ। कालिकोटमा २४६२ हेक्टरमध्ये २४१२ हेक्टरमा रोपाइँ सम्पन्न भइसकेको छ।

प्रदेशमा सबैभन्दा ठूलो धानखेती क्षेत्र रहेको सुर्खेतमा भने ९५ प्रतिशत मात्र रोपाइँ भएको छ। कुल १४ हजार ९२१ हेक्टरमध्ये १४ हजार १७४.९५ हेक्टरमा रोपाइँ गरिएको छ। यस्तै, दैलेखमा ७६२० हेक्टर क्षेत्रफलमध्ये ७०८६.६ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ।

प्रतिक्रिया दिनुहोस्