images
images

बागमतीमा इन्द्रबहादुर बानियाँ नयाँ मुख्यमन्त्री नियुक्त हुँदै

हेटौंडा – बागमती प्रदेश सरकारको छैठौं मुख्यमन्त्रीमा नेपाली कांग्रेस संसदीय दलका नेता इन्द्रबहादुर बानियाँ नियुक्त हुँदैछन्। कांग्रेस बागमती प्रदेश सभापतिसमेत रहेका बानियाँले सोमबार नै प्रदेश प्रमुखको कार्यालयमा नयाँ सरकार गठनका लागि मुख्यमन्त्रीमा दाबी पेश गरिसकेका छन्। बहादुरसिं लामाको राजीनामा स्वीकृत भएसँगै प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले मंगलबार दिउँसो २ बजेभित्र मुख्यमन्त्री नियुक्तिका लागि दाबी पेश गर्न आह्वान गरेका थिए।

बानियाँले नेपाली कांग्रेसका ३७ सांसद र सत्ता साझेदार नेकपा एमालेका २७ सांसदको समर्थनसहित ६४ जनाको हस्ताक्षरसहित दाबी प्रस्तुत गरेका हुन्। प्रदेशसभामा जम्मा ११० सदस्य रहेका छन्, जसअनुसार सरकार गठन गर्न ५६ जनाको समर्थन आवश्यक पर्छ। दिउँसो २ बजेको समयसीमापछि प्रदेश प्रमुखले बानियाँलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने तयारी गरेका छन्। प्रदेश प्रमुखको कार्यालयले बानियाँको पद तथा गोपनीयताको सपथ दिउँसो ४ बजेका लागि तय गरेको छ।

बानियाँले सपथ लिएपछि मन्त्रिपरिषद् विस्तार गर्ने तयारी पनि गरेका छन्। कांग्रेसका एक सांसदका अनुसार बानियाँले कांग्रेस र एमालेबाट मन्त्री नियुक्तिका लागि गृहकार्य गरिसकेका छन्। ११० सदस्यीय बागमती प्रदेशसभामा कांग्रेससँग ३७ जना, एमालेसँग २७, माओवादी केन्द्रसँग २१, राप्रपासँग १३, नेकपा एकीकृत समाजवादीसँग ७, नेमकिपासँग ३ र हाम्रो नेपाली पार्टीसँग २ जना सांसद छन्।

प्रतिक्रिया दिनुहोस्