images
images

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा प्रकाशित, ६१.१७% विद्यार्थी उत्तीर्ण

काठमाण्डौ – राष्ट्रिय परीक्षा बोर्डले हिजो सार्वजनिक गरेको कक्षा १२ को नतिजा अघिल्लो वर्षको तुलनामा सुधारिएको छ। हिजो साँझ बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्दै गएको वर्षको तुलनामा करिब ९ प्रतिशतले नतिजा राम्रो भएको जनाएको हो। यस वर्ष कुल ६१ दशमलव १७ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् भने अघिल्लो वर्ष यो दर ५२ दशमलव ९१ प्रतिशत मात्र थियो।

यस पटक कक्षा १२ को परीक्षामा तीन लाख ९६ हजार ३४७ विद्यार्थी सहभागी भएका थिए। तीमध्ये दुई लाख ४२ हजार ४६५ विद्यार्थीले ग्रेड प्राप्त गरेका छन्। आंशिकतर्फ एक लाख १४ हजार ६४० विद्यार्थी सहभागी हुँदा ४१ हजार ८४० जना उत्तीर्ण भएका छन्। बोर्डका अनुसार नियमिततर्फ ११ जना र आंशिकतर्फ ६ जना गरी १७ विद्यार्थीको परीक्षा रद्द गरिएको छ।

यस वर्ष सबै विषयमा ग्रेड प्राप्त गर्ने विद्यार्थीको सङ्ख्या दुई लाख ८४ हजार ३०५ रहेको छ। तीमध्ये १३ हजार ५०२ जनाले तीन दशमलव ६१ देखि चार जिपिए, ५५ हजार ८९६ जनाले तीन दशमलव २१ देखि तीन दशमलव ६०, ९४ हजार २६८ जनाले दुई दशमलव ८१ देखि तीन दशमलव २०, ६९ हजार ८१२ जनाले दुई दशमलव ४१ देखि दुई दशमलव ८० र ८ हजार ९६४ जनाले दुई दशमलव ०१ देखि दुई दशमलव ४० जिपिए प्राप्त गरेका छन्।

ग्रेड प्राप्त नगरेका विद्यार्थीका लागि भदौ २८ र २९ गते पूरक परीक्षा सञ्चालन गरिने बोर्डले जनाएको छ। दुई विषयमा ननग्रेड पाएका वा बढीमा दुई विषयको परीक्षामा अनुपस्थित रहेका विद्यार्थीले मौका परीक्षा दिन सक्ने व्यवस्था गरिएको छ।

प्रतिक्रिया दिनुहोस्