images
images

शर्माको अभिव्यक्तिपछि माओवादी केन्द्रमा आन्तरिक विवाद चर्कियो

नेकपा (माओवादी केन्द्र) का उपमहासचिव जनार्दन शर्माले पार्टीमा ‘निरंकुशता हाबी भएको’ भन्दै हालै सार्वजनिक रूपमै दिएको अभिव्यक्तिले पार्टीभित्र विवाद चुलिएको छ। पुष्पलाल स्मृति दिवसको अवसरमा साउन ६ गते काठमाडौँमा आयोजित कार्यक्रममा शर्माले पार्टीलाई ‘सामन्ती झुण्डजस्तो’ भन्दै कडा टिप्पणी गरेका थिए। उनको भनाइलाई गम्भीर मान्दै नेताहरूले अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष कारबाहीको माग गरेका छन्। कतिपयले स्पष्टीकरण माग गर्नुपर्ने सुझाव दिएका छन् भने केहीले सामाजिक सञ्जालमार्फत खुलेर विरोधसमेत जनाएका छन्।

शर्माले आफ्नो मन्तव्यमा कम्युनिस्ट पार्टीहरू नोकरशाही केन्द्रीयता र सामन्ती प्रवृत्तिमा रुपान्तरित भएको भन्दै जनवादको अन्त्य भएको टिप्पणी गरेका थिए। साथै, उनले कम्युनिस्ट नेतृत्वको सरकारहरूले गरिबी, जातीय उत्पीडन, महिला हिंसा लगायतका समस्या समाधान गर्न नसकेको भन्दै कटु प्रश्न उठाएका थिए। उनको अभिव्यक्तिपछि स्थायी समिति बैठक डाक्ने तयारीमा रहेको पार्टीले यस विषयमा गम्भीर छलफल गर्ने बताइएको छ। पार्टी प्रवक्ता तथा उपाध्यक्ष अग्नि सापकोटाले साउन १६ गते बस्ने स्थायी समितिको बैठकमा यस विषयमा समेत छलफल हुने बताएका छन्।

उपमहासचिव वर्षमान पुन र मात्रिका यादवले पनि शर्माको भनाइप्रति आपत्ति जनाएका छन्। पुनले नेतृत्वमाथिको व्यक्तिगत आरोप अस्वीकार्य भएको बताए भने यादवले यस्तो अभिव्यक्तिले पार्टीलाई धक्का दिने बताएका छन्। प्रचण्डले पनि अप्रत्यक्ष प्रतिक्रिया दिँदै ‘विभिन्न मतप्रति आफू उदार भए पनि अनुशासनहीनता स्वीकार्य नहुने’ चेतावनी दिएका छन्।

शर्माका समर्थक नेताहरू भने उनको अभिव्यक्तिलाई सुधारको आवाजका रूपमा लिएका छन्। सांसद सुदन किरातीले पार्टी रूपान्तरणका लागि आवाज उठाउनु अपरिहार्य भएको तर्क गर्दै पार्टी विभाजनको आरोप अस्वीकार गरेका छन्। शर्माले नेतृत्वले आफू उठाएको विधि र संगठनात्मक सुधारको माग बेवास्ता गरेको गुनासो गर्दै आएका छन्। तर, पार्टीभित्र उनको अभिव्यक्तिलाई लिएर मतान्तर अझ चर्किंदै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्