images
images

एमालेप्रति प्रतिबद्ध छु: पूर्वराष्ट्रपति भण्डारी

काठमाडौँ — पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेकपा एमालेसँगको सम्बन्धबारे उठेको बहसपछि सार्वजनिक रूपमा स्पष्टोक्ति दिँदै आफू आफ्नो विचारबाट विचलित नभएको दाबी गरेकी छन्। पार्टी सदस्यता नवीकरण नभएको विषयमा एमालेले सार्वजनिक रूपमा वक्तव्य जारी गरेपछि उनले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै आफ्नो धारणा सार्वजनिक गरेकी हुन्।

भण्डारीले भनिन्, “पार्टी हजारौँ कार्यकर्ताको रगत–पसिनाबाट बनेको हो। म यो कुरा कुनै भावनामा भन्दा पनि गम्भीर राजनीतिक आस्थाबाट बोलिरहेकी हुँ। जबज (जनताको बहुदलीय जनवाद) को मार्गदर्शनमा बनेको पार्टीलाई बलियो बनाउने हाम्रो साझा दायित्व हो।” उनले एमालेलाई देशको स्थायी शक्ति बनाउने आधार जननेता मदन भण्डारीको विचार र जबजको सिद्धान्त नै भएको दोहोर्याइन्। “म जननेता मदन भण्डारीले अघि सारेका मूल धारको पक्षमा छु। एमाले मुलुकको स्थायी शक्ति बन्न जबजमार्ग नै विकल्पहीन छ,” उनले भनिन्।

एमालेले सार्वजनिक गरेको केन्द्रीय निर्णय र नेताहरूका अभिव्यक्तिप्रति अप्रत्यक्ष प्रतिक्रिया दिँदै उनले आफू विचलित नभएको र पार्टीप्रति दृढ रहेको बताइन्। “निर्धक्क र ढुक्क भएर रहन सबैलाई आग्रह गर्छु,” उनले भनिन्। उनले पार्टीभित्र सामाजिक एकता र सुदृढीकरण अपरिहार्य रहेको उल्लेख गर्दै सबै पक्षलाई निस्वार्थ रूपमा जुट्न पनि आह्वान गरिन्। “पार्टीलाई अझ सशक्त बनाउनु आजको आवश्यकता हो। सामाजिक सद्भाव, विश्वास र ऐक्यबद्धता कायम गर्दै अघि बढेमा जननेताको सपना र देशको समृद्धिको मार्ग सुनिश्चित हुन्छ,” भण्डारीले भनिन्।

यसअघि एमालेले पूर्वराष्ट्रपति भण्डारीको पार्टी सदस्यता नवीकरण नभएको भन्दै उनको भूमिकामाथि प्रश्न उठाउँदै विज्ञप्ति जारी गरेको थियो। पार्टीका केन्द्रीय नेताहरूले समेत सार्वजनिक रूपमा उनको राजनीतिक अडानमाथि टिप्पणी गरेका थिए। यस्ता टिप्पणीपछि भण्डारीले पहिलो पटक प्रत्यक्ष रूपमा प्रतिक्रिया दिएकी हुन्।

प्रतिक्रिया दिनुहोस्