images
images

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई सक्रिय राजनीतिमा फर्कन नमिल्ने एमालेको निष्कर्ष

नेकपा एमालेको नवौँ केन्द्रीय कमिटी बैठकले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा फर्कन नहुने निष्कर्ष निकालेको छ। दुई दिनसम्म चलेको बैठकपछि प्रचार तथा प्रकाशन विभाग प्रमुख राजेन्द्र गौतमले पूर्वराष्ट्रपतिको राजनीतिक सक्रियता संविधानको भावना र राष्ट्रपतिको गरिमासँग मेल नखाने निष्कर्षमा पार्टी पुगेको जानकारी दिए।

गौतमका अनुसार राष्ट्रपतिले राष्ट्रको अभिभावक, संविधानको पालक, राष्ट्रिय एकताको प्रतीक, सेनाको परमाधिपति जस्ता संवैधानिक भूमिका निर्वाह गर्ने भएकाले त्यस्तो गरिमामय पदमा बसेको व्यक्तिले कुनै दलविशेषको कार्यकर्ता वा नेता बन्नु गलत अभ्यास ठहरिनेछ। उनले भने, ‘राष्ट्राध्यक्षजस्तो उच्च पदमा पुगेको व्यक्तिलाई तल ल्याएर पार्टीमा काम लगाउनु उहाँको अपमान हुन सक्छ।’

पूर्वराष्ट्रपति भण्डारीले एमालेको सदस्यता नवीकरण गरी पुनः सक्रिय राजनीतिमा फर्कने तयारी गरेपछि पार्टीभित्र व्यापक बहस भएको थियो। बैठकले सो बहसलाई टुङ्ग्याउँदै स्पष्ट निष्कर्ष निकालेको छ कि अब भण्डारीले दलगत भूमिका लिनु उपयुक्त छैन। संविधानको धारा ६१ र धारा २६७ को हवाला दिँदै पार्टीले भण्डारीको सक्रियता संस्थागत मर्यादाविपरीत हुने ठहर गरेको हो।

बैठकमा अध्यक्ष केपी शर्मा ओलीले पनि स्पष्ट पारे कि भण्डारी अब “कमरेड” होइनन्, बरु सम्माननीय पूर्वराष्ट्रपति हुन्। उनले भण्डारीको पार्टी सदस्यता नवीकरण प्रक्रियालाई त्रुटिपूर्ण भन्दै त्यो वैध नभएको दाबी गरे। संगठन विभागले दुई वर्षअघि गरेको नवीकरण अध्यक्षको स्वीकृतिविना अमान्य हुने भनाइ ओलीले बैठकमा राखे।

यता पार्टीको आगामी अधिवेशनलाई लक्षित गर्दै बैठकले केपी शर्मा ओलीलाई पुनः अध्यक्ष बनाउने बाटो पनि खुला गरेको छ। यसका लागि विधान संशोधन गरी ७० वर्षको उमेर सीमा र दुई कार्यकालको सीमा हटाउने निर्णय गरिएको छ। उपाध्यक्ष विष्णु पौडेलको नेतृत्वमा संशोधन प्रस्ताव तयार भएको हो, जसलाई भदौमा हुने विधान अधिवेशनले अनुमोदन गर्नेछ।

बैठकमा सहभागी अधिकांश नेताहरूले पार्टीको आगामी लक्ष्य ‘मिसन २०८४’ सफल बनाउन ओलीकै नेतृत्व आवश्यक रहेको बताएका थिए। गौतमले भने अनुसार, योग्य नेताहरूले अध्यक्ष पदमा प्रतिस्पर्धा गर्न सक्ने भए पनि ओलीलाई रोक्ने उद्देश्य पार्टीको छैन।

पार्टीले स्पष्ट पारेको छ कि पूर्वराष्ट्रपतिप्रति सम्मान कायम रहन्छ तर दलगत राजनीतिमा उनी सहभागी हुन सक्दैनन्। यो निष्कर्ष एमाले मात्र नभई सम्पूर्ण दलहरूको लागि पनि सोच्नुपर्ने विषय भएको गौतमले बताए।

प्रतिक्रिया दिनुहोस्