काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली कांग्रेसलाई पुरानो, मूल्यहीन र बेकार भएको भन्ने नकारात्मक धारणा चिर्न अबको प्रमुख आवश्यकता रहेको बताएका छन्। पार्टी केन्द्रीय कार्यालय सानेपामा नेपाली कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै थापाले कांग्रेसप्रति फैलिएको भ्रम र नकारात्मक धारणाले पार्टीको योगदान र गरिमालाई ओझेलमा पार्न खोजिएको बताए।
थापाले हालको प्रमुख चुनौती नै “कांग्रेस पुरानो भयो, थोत्रो भयो, मूल्यहीन भयो” भन्ने धारणा तोड्नु रहेको उल्लेख गरे। समाजमा स्थापित गराउन खोजिएको यस्तो नकारात्मक भाष्यबाट कांग्रेसलाई बाहिर ल्याउन सबैले मिलेर प्रयास गर्नुपर्ने उनको भनाइ थियो।
उनले भने, “हामी कांग्रेस पुरानो भएकोमा गर्व गर्छौं। यही पार्टीले देशमा लोकतन्त्र स्थापनादेखि विकास, सामाजिक परिवर्तन र राजनीतिक स्थायित्वसम्मका ऐतिहासिक काम गरेको छ। पुरानो भएकै कारण यो मूल्यहीन हो भन्ने सोच गलत हो।”
गगन थापाले नेपाली कांग्रेस नयाँ विचार, परिवेश र दृष्टिकोण अनुसार अघि बढिरहेको पनि बताए। समयको मागअनुसार नयाँ कुरा सिक्दै, नयाँ अभ्यास गर्दै पार्टीलाई समसामयिक सन्दर्भमा समायोजन गर्न कांग्रेस तयार रहेको उनले स्पष्ट पारे। उनका अनुसार कांग्रेसको विगत गौरवशाली मात्रै होइन, भविष्य पनि सम्भावनायुक्त छ, र त्यसलाई अझ सुदृढ बनाउन सबैले योगदान दिनुपर्ने समय आएको छ।
उनले पार्टीभित्रका युवा, विद्वान र अनुभवी नेतृत्वलाई साथसाथै अघि बढाउनुपर्ने आवश्यकता पनि औंल्याए। कांग्रेसभित्रको अध्ययन, अनुसन्धान र विचार निर्माणको अभ्यास अझ बलियो बनाउँदै पार्टीलाई विचारको केन्द्र बनाउनु आवश्यक रहेको उनले उल्लेख गरे।
कार्यक्रममा सहभागी अन्य नेताहरूले पनि कांग्रेसप्रतिको भ्रम हटाउन, त्यसको ऐतिहासिक योगदानको पुनः उजागर गर्न र समसामयिक चुनौतीहरूसँग जुध्नका लागि संगठित प्रयास आवश्यक रहेको धारणा राखे। कार्यक्रमको आयोजना कांग्रेस पुस्तकालय तथा पार्टी अध्ययन स्रोत केन्द्र विभागले गरेको हो।












प्रतिक्रिया दिनुहोस्