कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालय (त्रिवि) क्रिकेट मैदानको स्तरोन्नति कार्यमा ढिलाइ भएपछि निर्माण कम्पनीहरूलाई हर्जना लागाइएको छ। तोकिएको समयमा काम सम्पन्न गर्न नसकेको भन्दै शहरी विकास मन्त्रालयले सम्झौता अनुसार हर्जना लिन सुरु गरेको हो। हर्जना दर सम्झौता रकमको दैनिक ०.०५ प्रतिशत तय गरिएको छ, जसअनुसार निर्माण कम्पनीले दैनिक करिब २ लाख रुपैयाँभन्दा बढी तिर्नुपर्ने हुन्छ।
यो आयोजना अन्तर्गत मैदानको प्यारापिट निर्माणको जिम्मा बीकेओआई, केसीडीसी र बीजीको संयुक्त उपक्रम (जेभी) लाई दिइएको थियो भने फ्लडलाइट जडानको जिम्मा विशन ईश्वरी जेभीलाई दिइएको थियो। यी कम्पनीहरूले क्रमशः फागुन १९ र २२ गते संघीय सचिवालय निर्माण तथा व्यवस्थापन कार्यालय सानो गौचरनसँग ४९ करोड २५ लाख रुपैयाँ र ४७ करोड ३७ लाख रुपैयाँको सम्झौता गरेका थिए।
कार्यालय प्रमुख चक्रवर्ती कण्ठका अनुसार, असार ३० गते नै निर्माण कम्पनीहरूलाई निर्धारित समयसीमाभित्र काम नसके हर्जना लाग्ने जानकारी गराइसकिएको हो। मंगलबारदेखि निर्माण कम्पनीहरूले हर्जना तिर्दै काम गरिरहेका छन्। उनले कानुनी प्रावधान अनुसार अधिकतम २०० दिनसम्म हर्जना तिराउने व्यवस्था रहेको र सो अवधिमा पनि काम नसकेमा निर्माण कम्पनीहरूलाई कालोसूचीमा राखिने जानकारी दिए।
यद्यपि, निर्माण कम्पनीहरूले अबको एक महिनाभित्र काम सक्ने प्रतिबद्धता जनाएका छन्। हालसम्म ४ हजार सिटको फिटिङ सकिएको छ भने ६ वटा फ्लडलाइट पोलमध्ये ३ वटा आइसकेका छन्। प्यारापिट निर्माणतर्फ हालसम्म ६३ प्रतिशत वित्तीय र ७७ प्रतिशत भौतिक प्रगति भएको छ भने फ्लडलाइट जडानतर्फ २९ प्रतिशत वित्तीय र ४५ प्रतिशत भौतिक प्रगति देखिएको छ। यसअघि ओली–प्रचण्ड सरकारको उपस्थितिमा चर्चा पाएको यो आयोजना अझै निर्माणाधीन अवस्थामा रहेको र थप समय लाग्ने देखिएपछि आलोचना सुरु भएको छ।












प्रतिक्रिया दिनुहोस्