images
images

भ्रष्टाचार मुद्दामा माधव नेपालबारे खनालले पार्टीमा उठाए प्रश्न

नेकपा एकीकृत समाजवादीका वरिष्ठ नेता झलनाथ खनालले पार्टी अध्यक्ष माधवकुमार नेपालविरुद्ध पार्टी सचिवालय बैठकमा दस्तावेज पेश गरेको बताएका छन्। चीन भ्रमण सकेर स्वदेश फर्किएका खनालले शनिबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै अध्यक्ष नेपालमाथिको भ्रष्टाचार मुद्दाबारे पार्टीभित्रै लिखित रूपमा कुरा उठाइसकेको स्पष्ट पारे।

“यो आम जनताको चासोको विषय हो, हामीले पनि यसबारे प्रश्न उठाउनु स्वाभाविक हो,” खनालले भने, “पार्टीको सचिवालय बैठकमा मैले दस्तावेज पेश गरिसकेको छु। अहिले सार्वजनिक नगरेको भए पनि पार्टीभित्र छलफलपछि आवश्यक परे बोल्नेछु।” अध्यक्ष नेपालमाथि पतञ्जलि योगपीठको जग्गा अनियमिततासँग सम्बन्धित भ्रष्टाचार मुद्दा विशेष अदालतमा विचाराधीन छ। असार ११ गते उनले अदालतमा ३५ लाख रुपैयाँ धरौटी बुझाएका थिए। मुद्दा दर्ता भएपछि उनको सांसद पद निलम्बनमा परेको छ, तर उनले अध्यक्ष पद भने अझै नछोडेको विषयमा पार्टीभित्रै असन्तुष्टि देखिन थालेको छ। अर्कोतर्फ, अध्यक्षविरुद्ध बोल्ने स्थायी समिति सदस्य रामकुमारी झाँक्रीलाई भने पार्टीले स्पष्टीकरण सोधेको छ, जसले आन्तरिक विवाद झनै सतहमा ल्याएको छ।

प्रतिक्रिया दिनुहोस्