images
images

देशभर डेङ्गी संक्रमण बढ्दो, लामखुट्टे नियन्त्रणमा सतर्क रहन आग्रह

काठमाण्डौ — लामखुट्टेको टोकाइबाट सर्ने डेङ्गी संक्रमण तीव्र रुपमा फैलिएको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार हालसम्म देशभर ७३ जिल्लामा डेङ्गीका १,९०० भन्दा बढी संक्रमित फेला परेका छन्।

प्रदेशगत विवरण अनुसार गण्डकी प्रदेशमा सबैभन्दा धेरै ४६४ जना संक्रमित छन्। त्यसपछि बागमतीमा ४४१, कोशीमा ३५३, लुम्बिनीमा ३०५, सुदूरपश्चिममा २६८, कर्णालीमा ३६ र मधेश प्रदेशमा ३४ जनामा संक्रमण पुष्टि भएको महाशाखाले जनाएको छ। संक्रमणको दर बढ्दो अवस्थामा रहेको र संक्रमण फैलिन सक्ने जोखिम अझै कायम रहेकाले सतर्कता अपनाउन विज्ञहरूले आग्रह गरेका छन्।

सरुवारोग विशेषज्ञ डा. शेरबहादुर पुनका अनुसार, “डेङ्गी भाइरस लामखुट्टेको टोकाइबाट सर्छ। यो रोकथाम गर्न सबैभन्दा जरुरी कुरा भनेको लामखुट्टेको टोकाइबाट बच्ने उपाय अपनाउनु हो।” उनका अनुसार लामखुट्टे नफैलिने वातावरण बनाउनु नै प्रभावकारी प्रतिरोध हो। त्यसका लागि उनले तलका उपायहरू अपनाउन सुझाव दिएका छन्:

  • घर तथा कार्यस्थल वरपर पानी जम्न नदिनु

  • झ्याल–ढोकामा लामखुट्टे नछिर्ने गरी जाली लगाउनु

  • रातमा सुत्ने बेलामा झुलको प्रयोग गर्नु

  • लामो बाहुला भएको र पूरै शरीर छोपिने लुगा लगाउनु

  • पुराना टायर, फूलदानी, क्यान, प्लास्टिक जस्ता सामग्रीमा पानी जम्मा हुन नदिनु

डा. पुन भन्छन्, “हामीले हाम्रो वरिपरिको वातावरण सफा राख्न सकेनौं भने डेङ्गी नियन्त्रण गर्न गाह्रो हुन्छ। यसलाई व्यक्तिगत सतर्कता र सामूहिक जागरूकताबाट मात्र नियन्त्रण गर्न सकिन्छ।” स्वास्थ्य मन्त्रालयले समेत नागरिकहरूलाई उच्च सतर्कता अपनाउन र कुनै लक्षण देखिएमा नजिकको स्वास्थ्य संस्थामा सम्पर्क गर्न अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्