काठमाडौँ — काठमाडौँ महानगरपालिकाको कार्यपालिका बैठक शुक्रबार दिउँसो २ बजे बस्ने भएको छ। यो बैठक करिब ६ महिनापछि हुन लागेको हो। पछिल्लो पटक पुस १४ गते १६औँ नगर सभा बसेको थियो भने त्यसयता कार्यपालिका बैठक नबसेको शुक्रबार १९४ दिन पुगेको छ। लामो समयदेखि बैठक नबसेपछि गत जेठ १२ गते महानगरका ४१ जना जनप्रतिनिधिले मेयर बालेन शाहलाई पत्रमार्फत कार्यपालिका बैठक बोलाउन आग्रह गरेका थिए। त्यसपछि जेठ १४ गते १५० भन्दा बढी नगरसभा सदस्य अनौपचारिक रूपमा भेला भई बैठक बोलाउन थप दबाब दिएका थिए। सो बैठकमा वडा नम्बर १६ की वडाध्यक्ष रोजिना श्रेष्ठबाहेक अधिकांश जनप्रतिनिधिको उपस्थिति थियो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार असार मसान्तभित्र आगामी आर्थिक वर्षको बजेट नगरसभाबाट पारित गर्नुपर्ने कानुनी प्रावधान रहेको छ। समयमै बजेट पास नभए ‘बजेट होली डे’को अवस्था आउने भएकाले मेयर बालेन बैठक बोलाउन बाध्य भएका हुन्। यसअघि प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईसँगको विवादका कारण मेयर बालेनले कार्यपालिका बैठक नबोलाएको बताइएको थियो। उनलाई हटाएर मात्र बैठक बोलाउने अडानमा रहेका बालेन अहिले भने गुरागाईं पदमै रहँदा पनि बैठक गर्न तयार भएका छन्।
महानगर स्रोतका अनुसार शुक्रबार बिहान ११ बजे मेयरको संयोजकत्वमा स्रोत अनुमान तथा बजेट निर्धारण समितिको बैठक बस्नेछ। त्यसपछि उपप्रमुख सुनिता डंगोल नेतृत्वको बजेट तथा कार्यक्रम तर्जुमा समितिको बैठक बस्नेछ। यी बैठकपछि दिउँसो २ बजे कार्यपालिका बैठक बस्नेछ, जसले नीति तथा कार्यक्रम तथा बजेट नगर सभामा पेस गर्ने निर्णय गर्नेछ। त्यही बैठकले नगर सभाको मिति तोक्नेछ र असार मसान्तभित्र बजेट पास गर्ने तयारी रहेको छ।














प्रतिक्रिया दिनुहोस्