काठमाडौँ — प्रधानमन्त्री तथा त्रिभुवन विश्वविद्यालयका कुलपति केपी शर्मा ओलीसमक्ष विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्रा. डा. दीपक अर्यालले आज पद तथा गोपनीयताको शपथ लिएका छन्। प्रधानमन्त्री निवास बालुवाटारमा आयोजित विशेष कार्यक्रममा कुलपति ओलीसमक्ष डा. अर्यालले शपथ ग्रहण गरेका हुन्।
शपथ समारोहमा सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तसहित अन्य पदाधिकारीहरूको उपस्थिति थियो। कुलपति ओलीले सिफारिस समितिबाट प्राप्त तीन नाममध्येबाट डा. अर्याललाई आजै उपकुलपति पदमा नियुक्त गरेका हुन्।
नवनियुक्त उपकुलपति डा. अर्याल त्रिभुवन विश्वविद्यालय अन्तर्गतको जल तथा मौसम विज्ञान केन्द्रीय विभागका पूर्वप्रमुख हुन्। शिक्षामन्त्री पन्तको अध्यक्षतामा गठन गरिएको सिफारिस समितिले उपकुलपति पदका लागि डा. दीपक अर्यालसहित डा. खड्ग केसी र डा. विनिल अर्यालको नाम सिफारिस गरेको थियो।














प्रतिक्रिया दिनुहोस्