images
images

सरकारप्रति असन्तुष्टि, नागरिक उन्मुक्तिले गठबन्धन तोड्ने घोषणा

काठमाडौँ, २० असार । नागरिक उन्मुक्ति पार्टीले संघीय तथा सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन आज औपचारिक रूपमा फिर्ता लिने निर्णय गरेको छ। पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले समर्थन फिर्ताको औपचारिक घोषणा गर्ने जानकारी दिएकी छन्। सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार नागरिक उन्मुक्ति पार्टीका मन्त्री रामेश्वर चौधरीलाई उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयबाट बर्खास्त गरेपछि पार्टीले समर्थन फिर्ता लिने निर्णय गरेको हो।

अध्यक्ष श्रेष्ठका अनुसार पार्टीसँग पूर्व-परामर्श नगरी मन्त्री बर्खास्त गरिएको मात्र होइन, गठबन्धनमा अन्य महत्वपूर्ण विषयहरूमा समेत नागरिक उन्मुक्तिसँग कुनै संवाद नभएको गुनासो छ। “गठबन्धनमै रहे पनि कुनै सल्लाह बिना निर्णय गरिनु हाम्रो पार्टीप्रति अपमानजनक हो,” उनले भनिन्, “यस्तो अवस्थामा सरकारमा बसिरहनु उचित लागेन।” पार्टीका संरक्षक तथा पूर्वसांसद रेशम चौधरीले पनि बिहीबार नै सरकारसँगको समर्थन फिर्ता लिने निर्णयमा पार्टी दृढ रहेको बताएका थिए।

हाल सुदूरपश्चिम प्रदेशमा नेपाली कांग्रेसको नेतृत्वमा एमाले र नागरिक उन्मुक्तिको संयुक्त सरकार रहेको छ। कांग्रेससँग १८, एमालेसँग ११ र नागरिक उन्मुक्तिसँग ७ जना सांसद छन्। नागरिक उन्मुक्तिको समर्थन फिर्ता भए पनि संघ र प्रदेश दुवै सरकारमा हालका लागि संख्यात्मक संकट भने नरहने देखिन्छ। तर, गठबन्धनको आन्तरिक असमझदारी सतहमा आउन थालेपछि आगामी दिनमा राजनीतिक समिकरण फेरिने संकेत देखिएको छ।

प्रतिक्रिया दिनुहोस्