२० असार, काठमाडौं । विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन भ्रमणमा गएका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्किंदै छन्। प्रधानमन्त्री ओली केहीबेरअघि स्पेनको राजधानी मेड्रिडबाट कतारको दोहातर्फ प्रस्थान गरेका हुन्। सूचना तथा प्रसारण विभागका अनुसार उनी आज अपराह्न ३ः४५ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौंमा अवतरण गर्ने कार्यक्रम छ।
प्रधानमन्त्री ओली असार १४ गते शनिबार नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै स्पेन प्रस्थान गरेका थिए। भ्रमणका क्रममा उनले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरससँग भेटवार्ता गरेका थिए। त्यसैगरी, स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेज, स्टोनियाका राष्ट्रपति अलार कारिस, इजिप्टका प्रधानमन्त्री डा. मोस्तफा कमाल माडबुली, र पोर्चुगलका प्रधानमन्त्री लुइ मोन्टेनेग्रोसँग पनि भेटघाट गरेका थिए।
प्रधानमन्त्री ओलीले सम्मेलनलाई सम्बोधन गर्नुका साथै अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता गरेका थिए। उनी विभिन्न छलफल सत्र र ‘विकास सहायतामा नयाँ सोच’ विषयक उच्चस्तरीय संवादमा पनि सहभागी भएका थिए। साथै, अन्य साइड इभेन्टहरूमा पनि नेपाली प्रतिनिधिमण्डलको उपस्थिति थियो।
भ्रमणको अन्त्यतिर प्रधानमन्त्री ओलीले विश्वप्रसिद्ध रियल मेड्रिड क्लबको सान्टियागो बर्नाबाउ रङ्गशाला अवलोकन गरेका थिए। उनले स्पेनस्थित नेपाली दूतावासको निरीक्षण गरेका थिए भने त्यहाँ बसोबास गर्ने नेपाली समुदायसँग पनि भेटघाट तथा छलफल गरेका थिए।











प्रतिक्रिया दिनुहोस्