images
images

प्रधानमन्त्री ओली र स्पेनी समकक्षीबीच भेटवार्ता, द्विपक्षीय सहकार्यमा जोड

संयुक्त राष्ट्रसंघको ‘विकासको लागि वित्त’ सम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुन स्पेन पुगेका प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच सेभिल्लामा भेटवार्ता भएको छ। आइतबार साँझ सम्पन्न उक्त भेटमा दुईदेशीय सम्बन्धका विविध पक्षहरूमा विचारविमर्श गरिएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ। छलफलमा पर्यटन प्रवर्द्धन, जलवायु परिवर्तनको असर, लगानी अवसर र जनता–जनताबीचको सम्पर्क सघन बनाउने विषयमा विशेष जोड दिइएको थियो।

भेटका क्रममा प्रधानमन्त्री ओलीले समकक्षी साञ्चेजलाई नेपाल भ्रमणको निमन्त्रण दिएका छन्। साथै, नेपालमा स्पेनको दूतावास स्थापना गर्न आग्रह पनि गरेका छन्। जवाफमा प्रधानमन्त्री साञ्चेजले राष्ट्रसंघीय शान्ति मिसनमा नेपालको योगदानको प्रशंसा गरेका थिए। भेटवार्तामा प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णुप्रसाद रिमाल, परराष्ट्र सचिव अमृतबहादुर राई, अर्थ सचिव घनश्याम उपाध्याय, स्पेनका लागि नेपाली राजदूत शनिल नेपाल र परराष्ट्र मन्त्रालयका सहसचिव कृष्णप्रसाद ढकाल सहभागी थिए।

प्रधानमन्त्री ओली मेड्रिड हुँदै सेभिल्ला पुगेका हुन्। उनले सम्मेलनअन्तर्गत आयोजित नागरिक समाज मञ्चलाई प्रमुख अतिथिका रूपमा सम्बोधन गरेका थिए। यस्तै, स्पेनका राजा फिलिप द्वितीयले आयोजना गरेको रात्रिभोजमा समेत प्रधानमन्त्री ओलीको सहभागिता रहेको छ।

प्रतिक्रिया दिनुहोस्