images
images

अर्याल–खतिवडाबीच भनाभन, रेकर्ड हटाउने माग

काठमाडौं । प्रतिनिधिसभाको आइतबारको बैठकमा भिजिट भिसा प्रकरणलाई लिएर राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यवाहक सभापति डीपी अर्याल र नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाबीच भनाभन भएको छ।भिजिट भिसाको नाममा भइरहेको कथित मानव तस्करीविरुद्ध आफ्नो दलको अभियानबारे कुरा राख्दै अर्यालले कांग्रेस सांसदबाट निराधार आरोप लगाइएको आरोप लगाए। उनले आफ्नो कम्पनी ‘सुमिरे टुर्स एन्ड ट्राभल्स’ अनावश्यक रूपमा जोडिएको भन्दै आपत्ति जनाए।

“काम गरेर खानेहरू चोरेर खानेहरूलाई जवाफ दिँदै हिँड्नुपर्ने समाज बनेको छ,” उनले भने, “मेरो कम्पनी वैधानिक रूपमा सञ्चालनमा छ, कसैले प्रमाणसहित आरोप लगाओस्, नत्र संसद् रेकर्डबाट हटाइयोस्।” अर्यालले खतिवडाको अभिव्यक्ति संसदको रेकर्डबाट हटाउन सभामुखसँग माग गरे। उनले केही सांसदहरूले पुराना भ्रष्टाचारका घटनासमेत जोड्दै दोहोरो मापदण्ड अपनाएको आरोप पनि लगाए।

अर्यालको भनाइपछि सांसद खतिवडाले सभामुखसँग समय माग गर्दै जवाफ दिए। “चोरको खुट्टा काट भन्दा माननीयहरू खुट्टा झिक्नुहुन्छ,” उनले तिखो प्रतिक्रिया दिँदै भने, “हामीले निष्पक्ष छानबिनको माग मात्र गरेका थियौं, कसैको नाम भनेका थिएनौं।” खतिवडाले अर्यालले बोलेका शब्दहरू संसद्को रेकर्डबाट हटाउन पनि माग गरे। सभामुख देवराज घिमिरेले दुबै पक्षलाई जिम्मेवारीसाथ बोल्न आग्रह गर्दै गैरसंसदीय भाषा प्रयोग नगर्न चेतावनी दिए। “सांसदहरूले बोलेका कुरामा जिम्मेवारी लिनुपर्छ,” सभामुख घिमिरेले भने, “गैरसंसदीय भाषा र आरोप–प्रत्यारोप हटाउने परम्परा छन्, त्यसअनुसार निर्णय गरिनेछ।”

यसै विषयमा कांग्रेस प्रमुख सचेतक श्यामकुमार घिमिरेले पनि अर्यालको अभिव्यक्तिप्रति आपत्ति जनाउँदै विरोध गरेका थिए। संसदमा भिजिट भिसा प्रकरण गहिरिँदै जाँदा सांसदहरूबीच आरोप–प्रत्यारोप झन् चर्किंदै गएको देखिएको छ।

प्रतिक्रिया दिनुहोस्