काठमाडौं, असार १० — सत्तारुढ दल नेपाली कांग्रेसले आगामी आर्थिक वर्षको बजेटप्रति गम्भीर असन्तुष्टि जनाउँदै आएको छ। कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले अर्थमन्त्री विष्णु पौडेललाई बजेटमा समावेश गरिएको ‘टेक एन्ड पे’ व्यवस्था तत्काल हटाउन स्पष्ट निर्देशन दिएका छन्। स्रोतका अनुसार देउवाले सोमबार प्रतिनिधिसभाको कार्यकक्षबाट पौडेललाई फोन गरेर भनेका थिए, “यो व्यवस्था हटाउनुहोस्। नहटाए बजेट पास हुने अवस्था छैन। यो राम्रो भएन।”
देउवासँगै रहेका कांग्रेस सांसदका अनुसार उनले अर्थमन्त्रीसँग संवादपछि प्रधानमन्त्री केपी शर्मा ओलीसँग समेत टेलिफोन वार्ता गरेका थिए। प्रधानमन्त्रीलाई उनले भनेका थिए, “तपाईंकोजस्तो हुँदैन, हाम्रो पार्टीमा विरोध गर्ने पनि छन्। टेक एन्ड पे नहटाए गाह्रो पर्छ। हटाएर मात्रै बजेट पास गरौं।” ‘टेक एन्ड पे’ व्यवस्था निजी क्षेत्रलाई असर पर्ने भन्दै कांग्रेसले निरन्तर विरोध गर्दै आएको छ। आज बजेट पास गर्ने तयारी भइरहेको छ भने सत्तारुढ दलहरूले ह्विपसमेत जारी गरिसकेका छन्। देउवाको चेतावनीसँगै बजेटको भविष्य अन्योलमा परेको छ।










प्रतिक्रिया दिनुहोस्