images
images

स्वास्थ्य क्षेत्रमा हरेक वर्ष २५ सय स्वास्थ्यकर्मी भर्ना गर्ने प्रक्रिया सुरु

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले स्वास्थ्य क्षेत्रमा पाँच वर्षभित्र १२ हजार दक्ष जनशक्ति थप्ने गरी हरेक वर्ष २५ सय जनशक्ति भर्ना गर्ने प्रक्रिया सुरु भएको जानकारी दिएका छन् । लामो समयदेखि रोकिएको स्वास्थ्य जनशक्ति अभिवृद्धिको प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै मन्त्री पौडेलले संगठन तथा व्यवस्थापन सर्वेक्षण पूरा गरी मन्त्रिपरिषद्मा प्रस्ताव लैजाने तयारी भएको बताए ।

सोमबार प्रतिनिधिसभाको बैठकमा मन्त्रालयको बजेटबारे उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पौडेलले नयाँ आर्थिक वर्षका लागि ९५ अर्ब ८१ करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी दिए । उनले बजेटमार्फत सातै प्रदेशका संघीय अस्पताल तथा स्वास्थ्य विज्ञान प्रतिष्ठानहरूबाट मुटु, मिर्गौला प्रत्यारोपण, क्यान्सर उपचार र सघन जलन सेवा जस्ता विशिष्टीकृत सेवा सञ्चालन गरिने बताए ।

उनले “म स्वास्थ्य, मेरो समुदाय स्वस्थ” कार्यक्रम अन्तर्गत ७३६ स्थानीय तहमा जनस्वास्थ्य अधिकृतको व्यवस्था गरिने जानकारी दिँदै आयुर्वेद, योग ध्यान तथा परम्परागत चिकित्सा प्रवर्द्धन गरी निरोगी समाज निर्माणको अभियानलाई अघि बढाइने बताए । मानसिक स्वास्थ्य प्रवर्द्धन, पाठेघरको मुख र स्तन क्यान्सर तथा प्रजनन स्वास्थ्य सेवा सबै स्थानीय तहमा लागू हुने गरी बजेट व्यवस्था गरिएको उनले बताए । १४ वर्षमुनिका बालिकालाई पाठेघरको मुखको क्यान्सरविरुद्ध एचपीभी खोप उपलब्ध गराइने व्यवस्था पनि मिलाइएको छ ।

मन्त्री पौडेलले स्वास्थ्य बीमा बोर्डको संगठन तथा व्यवस्थापन सुधारको प्रक्रिया अन्तिम चरणमा पुगेको उल्लेख गर्दै सामाजिक स्वास्थ्य सुरक्षाका सबै कार्यक्रमहरू एकीकृत रूपमा बीमामार्फत सञ्चालन गरिने बताए । सेवाग्राहीका लागि बीमा सुविधा प्रयोग गर्दा सेवा प्रदायक संस्थामा देखिएको भुक्तानी बक्यौता तत्काल क्लियर गरिने जानकारी दिए । उनले मधेस प्रदेशमा विशेष मिर्गौला उपचार केन्द्र स्थापना गरिने र काठमाडौंमा सुविधा सम्पन्न राष्ट्रिय न्युरो उपचार केन्द्र स्थापनाका लागि बजेट व्यवस्था गरिएको पनि बताए । भक्तपुरस्थित छाती रोग अस्पताल तथा बुढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग सेवा केन्द्रको सञ्चालनका लागि बजेट विनियोजन गरिएको जानकारी दिए ।

कोशी अस्पताल, रामराजा प्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान, नारायणी अस्पताल, भेरी अस्पताल, राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान, मानसिक अस्पताल पाटन, टेकुस्थित सरुवा रोग अस्पताल, पोखराको आयुर्वेद अस्पताल, नरदेवी आयुर्वेद अस्पताल लगायतका संघीय स्वास्थ्य संस्थाहरूको पूर्वाधार निर्माण तथा विस्तारमा बजेट विनियोजन गरिएको उनले स्पष्ट पारे । साथै बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा PET स्क्यान सेवा सञ्चालन र साइक्लोट्रोन उपकरण स्थापना गरी क्यान्सर उपचारलाई थप प्रभावकारी बनाउने योजना पनि अघि सारिएको बताए ।

मन्त्री पौडेलले आठवटा गम्भीर रोगहरूको उपचारमा थप सेवा सुविधा प्रदान गरिने जानकारी दिँदै थारु समुदायमा देखिएको सिकलसेल एनिमियाका बिरामीका लागि निःशुल्क औषधि तथा सहुलियतपूर्ण उपचार उपलब्ध गराउने व्यवस्था मिलाइएको उल्लेख गरे । उनले नेपाली श्रमिकको स्वास्थ्य सुरक्षाका लागि रोजगारदातालाई जिम्मेवार बनाउन द्विपक्षीय श्रम सम्झौतामा सम्बन्धित प्रावधान समावेश गर्ने र यसलाई अन्तर्राष्ट्रिय मान्यता दिलाउन विश्व स्वास्थ्य सङ्गठनमा प्रस्ताव लैजाने तयारीसमेत भइरहेको जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्