images
images

आलम सफाइ प्रकरण : न्यायाधीशहरूमाथि थप उजुरी

नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद आफताब आलमलाई सफाइ दिने उच्च अदालतको फैसलापछि त्यसमा संलग्न न्यायाधीशहरू डा. खुसीप्रसाद थारू र अर्जुन महर्जनविरुद्ध थप उजुरी परेका छन्। जाहेरीकर्ता शैलेन्द्र शाहले सोमबार न्यायपरिषद् सचिवालयमा उजुरी दर्ता गराएका हुन्। उनले आलमसम्बन्धी मुद्दामा बदनियतपूर्वक फैसला भएको आरोप लगाउँदै न्यायाधीशहरूलाई कारबाही गर्न माग गरेका छन्। उनका अनुसार मुद्दाको फैसलामा ‘घटना नै नभएको’ ठहर गरिएको निर्णय राजनीतिक पूर्वाग्रहका आधारमा भएको हो।

शाहले आरोप लगाएअनुसार, जबसम्म डा. थारूको इजलासमा मुद्दा पुगेन, तबसम्म सुनुवाइ नै भएन। दोस्रो नम्बरमा सूचीकृत मुद्दा प्राथमिकतामा पर्‍यो र करिब ४ घण्टामै फैसला सुनाइयो। कांग्रेस सभापति शेरबहादुर देउवाले गौरमा आयोजित कार्यक्रममा “आलमलाई जसरी पनि निकाल्छु” भन्ने अभिव्यक्तिपछि भएको फैसला त्यसैको प्रभावमा आएको उनको दाबी छ।

शाहले न्यायाधीश डा. थारू, न्यायाधीश महर्जन र कानुनमन्त्री अजयकुमार चौरसियाबीचको कल डिटेल रेकर्ड माग गर्दै अनुसन्धानको माग समेत गरेका छन्। जाहेरीकर्ता शाह आफैँ घटनाका प्रत्यक्षदर्शी हुन्। उनले जिल्ला अदालतमा सरकारी पक्षबाट साक्षीका रूपमा बकपत्र समेत दिएका थिए। उल्लेखनीय कुरा के छ भने २०६४ सालको संविधानसभा निर्वाचनमा उनी आफैँ आलमका प्रतिस्पर्धी उम्मेदवार थिए।

प्रतिक्रिया दिनुहोस्