अमेरिकाले इरानका तीनवटा परमाणु केन्द्रमा आक्रमण गरेपछि इरानी सत्ता परिवर्तनबारे अन्तर्राष्ट्रिय बहस सुरु भएको छ। उक्त बहसको सुरुवात अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नै सामाजिक सञ्जालमार्फत गरेका हुन्।
आइतबार सामाजिक सञ्जाल ट्रुथ सोसलमा लेख्दै ट्रम्पले इरानका सर्वोच्च नेता आयातुल्लाह अली खामेनीलाई सत्ता छोड्नुपर्ने संकेत गरेका छन्। उनले लेखेका छन्, “रेजिम चेन्ज (शासन परिवर्तन) भन्ने कुरा आजको युगमा राजनीतिक रूपमा स्वीकार्य नहुन सक्छ। तर यदि अहिलेको इरानी सरकारले इरानलाई पुनः महान बनाउन सक्दैन भने सत्ता परिवर्तन किन नगर्ने?”
उनले आफ्ना पोस्टमा ‘MIGA’ को प्रयोगसमेत गरेका छन्, जसको अर्थ ‘Make Iran Great Again’ (इरानलाई फेरि महान बनाऔं) भन्ने हुन्छ। यो वाक्यांश उनले आफ्नो चर्चित नारा ‘Make America Great Again’ बाट प्रेरित भएर प्रयोग गरेको अनुमान गरिएको छ।
इरानमा हाल साढे तीन दशकदेखि आयातुल्लाह अली खामेनी सर्वोच्च नेताका रूपमा सत्तामा छन्। सन् १९७९ मा इस्लामिक क्रान्ति भएपछि राजा मोहम्मद रजा पहलवी सत्ताच्युत भएका थिए। त्यसपछि निर्वासनमा रहेका आयातुल्लाह रुहोल्लाह खामेनी स्वदेश फर्केर इरानमा इस्लामिक गणतन्त्र स्थापना गरेका थिए। सन् १९८९ मा उनको निधन भएपछि हालका नेता अली खामेनी सर्वोच्च पदमा पुगेका हुन्।
अमेरिका र इजरायलले इरानको परमाणु कार्यक्रम रोक्ने उद्देश्यले शनिबार राति इरानका तीन प्रमुख परमाणु केन्द्र – फोर्दो, नतान्ज र एस्फाहन – मा बम आक्रमण गरेका थिए। अमेरिका अनुसार ती आक्रमणहरू सफल भएका छन् र केन्द्रहरूमा क्षति पुगेको दाबी गर्दै तस्बिरहरू सार्वजनिक गरिएका छन्।
तर इरानले भने आक्रमणको तीव्र विरोध गर्दै त्यसको कडा जवाफ दिने चेतावनी दिएको छ। उता भारतको जवाहरलाल नेहरू विश्वविद्यालयस्थित सेन्टर फर वेस्ट एसियन स्टडिजका प्राध्यापक एके महापात्राले बीबीसीसँग कुरा गर्दै अमेरिकी हमलाको मूल उद्देश्य खामेनीलाई सत्ताबाट हटाउने रहेको बताएका छन्। ट्रम्पको सामाजिक सञ्जालमा गरिएको अभिव्यक्तिले पनि यही संकेत गरेको उनी बताउँछन्।










प्रतिक्रिया दिनुहोस्