वासिङ्टन डीसी — अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले शनिबार इरानमा अमेरिकी सेनाले तीनवटा प्रमुख आणविक साइटहरूमा आक्रमण गरेको पुष्टि गरेका छन्। उनले इजरायलको समर्थनमा अमेरिका प्रत्यक्ष रुपमा इरानी आणविक कार्यक्रमविरुद्धको अभियानमा संलग्न भएको जानकारी दिएका हुन्।
ट्रम्पले फोर्डो, नातान्ज र एस्फहानमा गरिएको हवाई आक्रमणलाई “सफल मिसन” भन्दै अमेरिकी सेनाको प्रशंसा गरे। उनका अनुसार सबै अमेरिकी विमानहरू इरानको हवाई क्षेत्रबाट सुरक्षित रूपमा बाहिरिइसकेका छन्। “हामीले फोर्डोमा बमको सम्पूर्ण पेलोड खसालेका छौं,” ट्रम्पले भने, “हाम्रा महान् अमेरिकी योद्धाहरूलाई बधाई छ। यस्तो क्षमता अरु कुनै सेनामा छैन। अब शान्तिको समय आएको छ।”
यसअघि, जुन १३ मा इजरायलले इरानमाथि हमला गरेपछि दुई देशबीच सशस्त्र संघर्ष चर्किएको थियो। पछिल्लो तथ्यांकअनुसार, इरानमा ६५७ जनाको मृत्यु भइसकेको छ भने २,००० भन्दा बढी घाइते भएका छन्। इजरायलमा भने २४ जनाको मृत्यु र ९०० भन्दा बढी घाइतेको रिपोर्ट सार्वजनिक भएको छ।
राष्ट्रपति ट्रम्पले केही दिनअघि नै इरानले आणविक कार्यक्रम रोक्न अस्वीकार गरे अमेरिकाले हस्तक्षेप गर्ने चेतावनी दिएका थिए। पछिल्लो कारबाही त्यसैको निरन्तरता भएको बताइएको छ। यसबीच, राष्ट्रपति ट्रम्प वाशिङ्टन डीसीमा राष्ट्रिय सुरक्षा टोलीसँग आपतकालीन बैठकमा सहभागी हुन पुगेका छन्। बैठकमा इरानसँगको सम्बन्ध र आगामी रणनीतिबारे छलफल हुने अनुमान गरिएको छ।













प्रतिक्रिया दिनुहोस्