images
images

झगडाले होइन, समृद्धिले देश बन्छ : प्रदीप ज्ञवाली

सिन्धुली — नेकपा एमालेका उपमहासचिव प्रदीप ज्ञवालीले झगडा र टकरावबाट होइन, समृद्धि र सहकार्यबाट मात्र देश अगाडि बढ्न सक्ने बताएका छन्। एमाले सिन्धुलीको आठौँ जिल्ला अधिवेशन प्रतिनिधि परिषद्को दोस्रो बैठकमा प्रमुख अतिथिका रूपमा सम्बोधन गर्दै उनले राजनीतिक स्थायित्व, समृद्धि र सन्तुलनमा आधारित विदेश नीति आवश्यक भएको बताए। ज्ञवालीले नेपालले छिमेकी राष्ट्रहरूसँग सन्तुलित सम्बन्ध राख्दै आर्थिक विकासको बाटो समात्नुपर्ने उल्लेख गर्दै भने, “नेपालले चीनसँग बेल्ट एन्ड रोड इनिसिएटिभ (BRI) सम्झौता गरिसकेको छ। यदि भारतबाट पनि यस्तै प्रस्ताव आउँछ भने हामी खुलेर स्वागत गर्न तयार छौँ।”

उनको भनाइमा, चीन र भारत जस्ता ठूला छिमेकी मुलुकहरूसँग सहकार्य गर्दै मात्र नेपालले विकासको गती लिने सम्भावना रहन्छ। यस्तै, वर्तमान सरकारले जनतामा व्याप्त निराशा चिर्न प्रयास गरिरहेको पनि उनले बताए। पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले माओवादी केन्द्रप्रति कटाक्ष गर्दै भने, “३२ सिट मात्र जितेको पार्टी विदेशीको इशारामा चलेको देखिन्छ।” उनले एमालेले २०७९ सालमा नन्दकिशोर पुनलाई राष्ट्रपतिको उम्मेदवार बनाउने प्रस्ताव राख्दा माओवादी अध्यक्ष प्रचण्डले त्यसलाई अस्वीकार गरेको खुलासा पनि गरे। “विदेशी चाहनाअनुसार निर्णय गर्ने प्रवृत्तिले राष्ट्र आत्मनिर्भर बन्न सक्दैन,” उनले जोड दिए।

ज्ञवालीले माओवादी प्रवृत्तिका कारण कम्युनिस्ट आन्दोलन कमजोर भएको र देशको विकासमा बाधा पुगेको टिप्पणी गरे। साथै, उनले एमालेभित्र अवसरवादले चुनौती सिर्जना गरिरहेको भन्दै आत्मसमीक्षा आवश्यक रहेको बताए। कार्यक्रममा एमाले सिन्धुलीका इन्चार्ज मनोजजंग थापाले पार्टीमाथिका विभिन्न आक्रमणका बाबजुद पनि संगठन लेनिनवादी विचार, सिद्धान्त र पद्धतिमा दृढ रहेको बताए। उनका अनुसार हालै २ हजारभन्दा बढी नयाँ सदस्य पार्टीमा आवद्ध भएका छन्। बैठकमा पार्टीको राजनीतिक तथा सांगठनिक प्रतिवेदन प्रस्तुत गरिएको थियो भने समूहगत छलफलबाट महत्वपूर्ण सुझावहरू प्राप्त भएको प्रचार विभाग प्रमुख कर्ण घिसिङले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्