images
images

पत्रकार दिलभूषण पाठकलाई पक्राउ नगर्न उच्च अदालतको आदेश

पत्रकार दिलभूषण पाठकलाई साइबर अपराध मुद्दामा पक्राउ नगर्न उच्च अदालत पाटनले आदेश दिएको छ। न्यायाधीशद्वय टंकप्रसाद गुरूङ र टीकाराम आचार्यको संयुक्त इजलासले असार २ गते जारी गरिएको अल्पकालीन अन्तरिम आदेशलाई निरन्तरता दिँदै यस्तो आदेश दिएको हो।

अदालतले पत्रकारले सम्प्रेषण गरेका सामग्रीबाट मर्का परेका व्यक्तिहरूले प्रेस काउन्सिल नेपालमा उजुरी दिन सक्ने व्यवस्था रहेको उल्लेख गर्दै विद्युतीय कारोबारसम्बन्धी कसुरअनुसार अनुसन्धान गर्नुपर्ने अवस्था नदेखिएको ठहर गरेको छ। अदालतको आदेशमा भनिएको छ, “निवेदक पाठक लामो समयदेखि पत्रकारिता क्षेत्रमा क्रियाशील छन्। उनी इन्टरफेस नेपाल नेटवर्क कम्पनीमार्फत सञ्चारमाध्यम दर्ता गरी सूचना तथा प्रसारण विभागबाट अनुमति प्राप्त गरी सञ्चार गतिविधिमा संलग्न देखिन्छन्।”

आदेशमा संविधानको धारा १७(२)(क), धारा १९ र धारा २७ को उल्लेख गर्दै प्रेस स्वतन्त्रताको संरक्षण गरिनुपर्ने औंल्याइएको छ। साथै, प्रेस काउन्सिल ऐन, २०४८ र पत्रकार आचारसंहिता, २०७३ बमोजिम पत्रकार तथा सञ्चारमाध्यमबाट प्रभावित व्यक्तिले काउन्सिलमा उजुरी दिन सक्ने कानुनी व्यवस्था रहेको स्पष्ट गरिएको छ। त्यसैले पाठकमाथि परेको जाहेरीका आधारमा उनलाई पक्राउ गर्नुपर्ने अवस्था नदेखिएको भन्दै अदालतले मुद्दाको अन्तिम किनारा नभएसम्म पक्राउ नगर्न आदेश दिएको हो।

प्रतिक्रिया दिनुहोस्