images
images

सन्दीपको ४ विकेट, कुशलको ३० रनले दिलायो नेपालको विजयी यात्रा

काठमाडौँ — स्कटल्यान्डमा जारी त्रिदेशीय टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खलामा नेपालले आफ्नो दोस्रो खेलमा घरेलु टोली स्कटल्यान्डलाई २ विकेटले पराजित गरेको छ।

मंगलबार सम्पन्न खेलमा स्कटल्यान्डले दिएको ९८ रनको लक्ष्य नेपालले १९ ओभर ५ बलमा ८ विकेटको क्षतिमा पूरा गर्‍याे। ओपनर कुशल भुर्तेलले नेपालका लागि सर्वाधिक ३० रनको योगदान दिए। स्कटल्यान्डका माइकल लिस्क र सफियान सरिफले समान २–२ विकेट लिए। त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको स्कटल्यान्डले १९ ओभर ४ बलमा सबै विकेट गुमाउँदै ९७ रन बनाएको थियो। स्कटल्यान्डका माइकल लिस्कले सर्वाधिक ४४ रन बनाए। नेपालका सन्दीप लामिछानेले ४ विकेट लिए भने करण केसी र दीपेन्द्र सिंह ऐरीले समान २–२ विकेट हात पारे।

प्रतियोगितामा नेपालको यो पहिलो जित हो। यस जितसँगै नेपाल अङ्क तालिकामा दोस्रो स्थानमा उक्लिएको छ। नेपाल, स्कटल्यान्ड र नेदरल्यान्ड्स तीनै टोलीको समान २–२ अङ्क भए पनि नेट रनरेटका आधारमा स्कटल्यान्ड शीर्ष स्थानमा, नेपाल दोस्रो र नेदरल्यान्ड्स पुछारमा छन्। यसअघि सोमबार नेपाल नेदरल्यान्ड्ससँग रोमाञ्चक तेस्रो सुपर ओभरसम्म पुगेको खेलमा पराजित भएको थियो। पहिलो खेलमा स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो। नेपालले अब आफ्नो तेस्रो खेल भोलि नेदरल्यान्ड्ससँग र अन्तिम खेल पर्सि शुक्रवार पुनः स्कटल्यान्डसँग खेल्नेछ। तीन टोलीबीच डबल राउन्ड रोबिन फारम्याटमा खेलाइने शृङ्खलामा सर्वाधिक अंक बटुल्ने टोली विजेता बन्नेछ।

प्रतिक्रिया दिनुहोस्