images
images

सहमति नजुटेपछि प्रतिनिधिसभा बैठक बिहीबारसम्म स्थगित

काठमाण्डाै – प्रतिनिधिसभाको बैठक बिहीबार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको छ। संसद् सचिवालयले सार्वजनिक सूचना जारी गर्दै बैठक स्थगित भएको जानकारी दिएको हो।

मंगलबारको बैठक सुरु भएपछि उच्चस्तरीय छानबिन आयोग, न्यायिक समिति वा संसदीय विशेष छानबिन समिति गठनको माग उठेपछि सभामुख देवराज घिमिरेले प्रारम्भमा बैठकलाई ३० मिनेटका लागि स्थगन गरेका थिए। सो अवधीपछि पनि सहमति नजुटेपछि बैठक साँझ ४:३० बजे पुनः बोलाइएपनि बैठक नबसी सीधै बिहीबारका लागि सारिएको हो।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राप्रपाले गृहमन्त्री रमेश लेखकमाथि भिजिट भिसा प्रकरणमा छानबिन र राजीनामाको माग गर्दै निरन्तर सदनमा विरोध जनाउँदै आएका छन्। उनीहरूले जेठ १३ गतेदेखि यही विषयमा सदन अवरुद्ध गर्दै आएका हुन्।

यसअघि प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले पनि सोही मागमा समर्थन जनाएको थियो। तर शुक्रबार माओवादी केन्द्रले नेपाली कांग्रेस र एमालेसँग दुई बुँदे सहमति गरेपछि बैठक अवरोध नगर्ने निर्णय गरेको थियो।

आजको बैठकमा सभामुखले कार्यसूची पढ्न थालेपछि रास्वपाका सांसदहरूले नाराबाजीसहित उठेर विरोध जनाएका थिए। उनीहरूले भिजिट भिसा प्रकरणलाई मानव बेचबिखनसँग समेत जोडिएको भन्दै निलो स्कार्फ लगाएर सदनभित्रै प्रदर्शन गरेका थिए।

विरोधका बीच नेपाली कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले प्रदर्शनप्रति नियमविपरीत भएको प्रतिक्रिया जनाएका थिए।

सभामुखका सञ्चारविज्ञ शेखर अधिकारीका अनुसार बुधबार दलहरूलाई सहमति जुटाउने तयारी गर्न समय दिइएको छ।

प्रतिक्रिया दिनुहोस्